काठमाडौ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रमा मतगणना सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमै हुने जनाएको छ।
आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणाली तर्फको मतगणना सम्बन्धित निर्वाचन क्षेत्र अन्तर्गतका सबै मतदान स्थलबाट मतपेटिका सङ्कलन भएपछि सुरु गरिनेछ। मतगणना प्रारम्भ गर्नु अघि जिल्ला तथा निर्वाचन क्षेत्र स्तरमा सर्वदलीय बैठक बस्नेछ, जसमा गणना प्रक्रिया र पारदर्शिता बारे सहमति गरिनेछ।
आयोगले प्रत्यक्षतर्फको मतगणना सुरु भएको २४ घण्टाभित्र परिणाम सार्वजनिक गर्ने लक्ष्य सहित तयारी गरिएको जनाएको छ। प्रत्यक्षतर्फको अन्तिम परिणाम सार्वजनिक भएपछि मात्र समानुपातिक तर्फको मतगणना सुरु हुनेछ।





