समाज

६ महिनामा निर्वाचन सम्पन्न, सुशीला कार्की सरकारलाई धन्यवाद

काठमाडौ। भदौ २७ मा बनेको सुशीला कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्दै आफ्नो मूल जिम्मेवारी पूरा गरेको छ। जेनजी आन्दोलनपछिको असहज र जटिल राजनीतिक परिस्थितिमा सरकार गठन भएको थियो। सुरुवातमा ‘निर्वाचन सम्भव छैन’ भन्ने आशङ्का व्यापक थियो तर सरकारले ती आशङ्कालाई चिर्दै तोकिएकै समयमा निर्वाचन गरायो।

निर्वाचन सम्पन्न गर्नु केवल प्रशासनिक प्रक्रिया मात्र थिएन यो मुलुकलाई संवैधानिक ट्र्याकमा फर्काउने प्रयास पनि थियो। प्रधानमन्त्री कार्कीले मन्त्री चयन देखि राजनीतिक दलहरूलाई विश्वासमा लिनेसम्मका चुनौती पार गरिन। आन्दोलनका क्रममा प्रभावित परिवारलाई सम्बोधन गर्ने सुरक्षा निकायको मनोबल उकास्ने र भयमुक्त वातावरणमा मतदान गराउने कार्य सरकारका लागि ठूलो परीक्षा थियो।

यस क्रममा सरकार, राजनीतिक दल, निर्वाचन आयोग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भूमिका महत्त्वपूर्ण रह्यो। कठिन परिस्थितिमा पनि देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न हुनु आफैमा उपलब्धि हो।

अब जिम्मेवारी नयाँ संसद्मा पुगेको छ। २७५ जना प्रतिनिधि सभा सदस्यले जनताको भरोसा जोगाउँदै स्थायित्व, सुशासन र समृद्धिको मार्गचित्र कोर्नुपर्नेछ। साथै, जेनजी आन्दोलन बारे गठित छानबिन आयोगले औँल्याएका दोषी माथि कारबाही गर्नु नयाँ सरकारको दायित्व हुनेछ।

निर्वाचनको नतिजा जे आए पनि संक्रमणकालीन अवस्थाबाट मुलुकलाई निकास दिन सफल भएकामा प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई धन्यवाद दिनैपर्छ। अबको यात्रा नयाँ संसद् र आगामी सरकारको काँधमा छ।

सेयर गर्नुहोस् :