स्पट फिक्सिङ’ प्रकरणमा संलग्न भएको आरोप लागेपछि ३१ महिनासम्म अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहेका अलराउण्डर महमद आदिल आलम (आदिल अन्सारी) अन्ततः राष्ट्रिय टोलीमा पुनरागमन गर्न लागेका छन्। भारतको गुवाहटीमा आसामविरुद्ध हुने टी–२० सिरिजमार्फत आदिलले पुनः राष्ट्रिय जर्सीमा फिर्ता हुने भएका हुन्।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार घोषणा गरेको १६ सदस्यीय नेपाल ‘ए’ टोलीमा बाराको सिम्रौनगढ घर भएका आदिललाई समावेश गरेको छ। यो उनको दुई वर्ष सात महिनापछि राष्ट्रिय क्रिकेटमा औपचारिक पुनरागमन हो।
आगामी भदौ १० देखि १८ गतेसम्म (२६ अगस्ट–३ सेप्टेम्बर) हुने पाँच टी–२० खेलका लागि नेपाल ‘ए’ टोलीलाई क्यानले भारत पठाउने तयारी गरेको छ। टोलीको नेतृत्व अनुभवि ब्याट्स म्यान अनिल साहले गर्नेछन्। अष्ट्रेलियामा हुने ‘टप इन्ड टी–२०’ सिरिजमा अवसर नपाएका अनिललाई यस सिरिजमा कप्तानी दिइएको हो। यसरी, अनिलका लागि पुनः राष्ट्रिय टोलीमा फर्किने महत्वपूर्ण अवसर पनि हुनेछ भने आदिलका लागि भने नयाँ सुरुवात हुनेछ।
२०७९ पुसमा नेपाल टी–२० लिगका दुई खेलमा ‘स्पट फिक्सिङ’ गरेको आरोपमा आदिललाई पक्राउ गरेर अनुसन्धान गरिएको थियो। प्रहरीले आदिलसहित पूर्व राष्ट्रिय खेलाडी महमुद आलम, नितेश गुप्ता, रवी माझी र नविन कँडेलविरुद्ध मुद्दा दायर गरेको थियो। तर, पर्याप्त प्रमाण नपाएको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले २०८० चैत १२ गते नै उनीहरूलाई सफाइ दिएको थियो।
यद्यपि, अदालतको फैसलापछि पनि आदिललाई क्रिकेटमा फर्कन तत्काल सहज भएन। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र क्यानको निलम्बन फुकुवा पाउन थप दुई वर्ष लाग्यो। अन्ततः गत वैशाख २१ गते क्यानले उनको निलम्बन हटाएको थियो।





