अछाम : अछाममा महिनावारीका कारण घर बाहिर बस्न बाध्य दुई महिलामध्ये एक र साथमा भएकी सात वर्षीया बालिकाको ढुंगा खस्दा मृत्यु भएको छ। पञ्चदेवल विनायक नगरपालिका–८ बरालाको सेरापानी स्थित चुरेखोली टोलमा बुधबार राति भएको घटनामा एक महिला गम्भीर घाइते भएकी छन्।
प्रहरीका अनुसार मृतकमध्ये २८ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको घटनास्थलमै ज्यान गएको हो। बालिकाकी आमा ३६ वर्षीया रत्नकला भण्डारीको टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।
“गाउँमा छाउगोठ नभए पनि महिनावारी भएका दुई महिला छोरीसहित बारीमा त्रिपाल टाँगेर बसेका रहेछन्। त्यही बेला माथिबाट ढुंगा खस्दा घटना भएको हो,” डीएसपी खनालले भने, “यदि महिलालाई यसरी जबरजस्ती बाहिर बस्न बाध्य पारिएको भए कानुनी कारबाही अगाडि बढाइनेछ।”
अछाममा छाउगोठ भत्काइए पछि महिलाहरू त्रिपाल टाँगेर वा ओडारमा बस्ने प्रवृत्ति बढेको छ। यसै कारण विभिन्न दुर्घटनामा २०६३ यतादेखि मात्रै जिल्लामा कम्तीमा १९ जना महिला र किशोरीले ज्यान गुमाइसकेका छन्।





