काठमाडौं : मीनभवन स्थित यातायात व्यवस्था विभागमा जेनजी आन्दोलनका क्रममा भएको आगलागीले भवन र उपकरणहरूमा ठूलो क्षति पु¥याए पनि स्मार्ट लाइसेन्सको डेटा भने पूर्ण रूपमा सुरक्षित रहेको पाइएको छ।
विभागका कर्मचारीका अनुसार ब्याकअपमा रहेको डेटा सफलतापूर्वक रिकभर गर्न सकिने अवस्थामा छ भने छिट्टै सेवाप्रवाह सुरु गर्न सकिने तयारी भइरहेको छ।
भदौ २३ र २४ गते आन्दोलन चर्किएपछि विभागको भवनमा आगजनी हुँदा स्मार्ट लाइसेन्स छाप्ने मेसिन र करिब १२ लाख थान छापिसकिएका लाइसेन्स मध्ये करिब ६ लाख थान जलेर नष्ट भएका थिए। तर वितरणका लागि तयारी अवस्थामा रहेका बाँकी ६ लाख थान लाइसेन्स सुरक्षित रहन सफल भएका छन्।
शुक्रबार बिहान विभाग परिसरको सरसफाइ कार्यक्रममा सहभागी भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई कर्मचारीहरूले स्मार्ट लाइसेन्स डेटा सुरक्षित रहेको जानकारी गराएका थिए।
मन्त्री घिसिङले अत्यावश्यक सेवाका लागि वैकल्पिक उपायको तयारी भइरहेको जनाउँदै भने, “राष्ट्रिय परिचयपत्र छाप्ने मेसिनबाट पनि लाइसेन्स छाप्न सकिन्छ भन्ने कुरा छ। विदेश जानुपर्ने वा तत्काल आवश्यक पर्ने व्यक्तिका लागि पञ्जीकरण विभागसँग समन्वय गरी लाइसेन्स छाप्ने व्यवस्था मिलाइनेछ।”
विभागका अनुसार हाल करिब २५ लाख स्मार्ट लाइसेन्स अझै छाप्न बाँकी छ। बाँकी लाइसेन्स छाप्न आवश्यक सामग्री खरिदका लागि छिट्टै टेन्डर आह्वान गरिने तयारी भएको छ।





