अछाम ( साफेबगर ) : अछामको साँफेबगरमा खेलप्रेमी युवाहरूको जोश र उत्साहबीच ‘ अछाम च्याम्पियन्स ट्रफी’ खुला क्रिकेट प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिता साँफेबगर युवा युनाइटेड क्लबको आयोजनामा रिडिकोट–बडासैन खेलमैदानमा सुरु गरिएको हो।
प्रतियोगितामा जिल्लाका विभिन्न क्षेत्रका २६ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष राज कुँवरले जानकारी दिनुभएको छ । उद्घाटन समारोहमा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर प्रमुख अतिथि र उप–प्रमुख शिव बहादुर कुँवर विशिष्ट अतिथिको रूपमा उपस्थित हुनु भएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, पत्रकार तथा खेलप्रेमीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा क्लबका सदस्य जितेन्द्र कुँवरले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन राजेन्द्र कोलीले गर्नुभएको थियो।
आयोजक क्लबका अनुसार प्रतियोगिताको उद्देश्य गाउँ–गाउँमा खेलकुदको संस्कृति विस्तार गर्नु, युवाहरूमा अनुशासन र एकताको भावना विकास गर्नु र स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउने बाटो खोल्नु रहेको जनाएको छ ।





