काठमाडौं। विवादका कारण युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको आगामी माघ ३ गतेको अमेरिका भ्रमण रद्द भएको छ। स्वकीय सचिव विनोद रिमालका अनुसार भिसा तथा अन्य प्रक्रिया पूरा गर्न समय नपुगेकाले भ्रमण तत्कालका लागि स्थगित गरिएको हो।
मन्त्रिपरिषदले अमेरिकामा आयोजना हुने ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई स्वीकृति दिएपछि भ्रमण विवादमा परेको थियो। उक्त कार्यक्रम गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक समूहले आयोजना गर्न लागेको भए पनि अर्को समूहले मन्त्रीलाई नबोलाएको दाबी गरेपछि विवाद चर्किएको थियो।
मन्त्री गुप्ता माघ ६ को प्रतिनिधिसभा निर्वाचन मनोनयन अघि नेपाल फर्कन चाहेका थिए। उनी रास्वपा निकट देखिएको र गैरदलीय सरकारमा पार्टी निकटता देखाएको आरोपसमेत लागेपछि भ्रमण थप संवेदनशील बनेको थियो।
मन्त्री गुप्ता सरकारी खर्चमा होइन, आयोजकको खर्चमा अमेरिका जान लागेका थिए र कार्यक्रममा जेनजी आन्दोलन तथा गैरआवासीय नेपाली युवाको भूमिकाबारे धारणा राख्ने कार्यक्रम थियो। अन्ततः समय अभाव र बढ्दो विवादका कारण भ्रमण रद्द गरिएको हो।





