धनगढी। सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक तर्फ पनि पहिलो शक्ति बनेको छ। यसपटक प्रदेशका मतदाताले नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपालाई पहिलो रोजाइ दिएको देखिएको छ।
समानुपातिक मतको तथ्यांकअनुसार रास्वपाले ३ लाख १७ हजार ८३६ मत प्राप्त गर्दै प्रदेश मै पहिलो स्थान हासिल गरेको छ। नेपाली कांग्रेस १ लाख ८२ हजार ८४२ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा एमाले १ लाख ४७ हजार ९०९ मतसहित तेस्रो स्थानमा सीमित बनेको छ। त्यस्तै, नेकपा चौथो र राप्रपा पाँचौँ स्थानमा रहेका छन् भने अन्य दलहरू निकै पछाडि परेका छन्।
तथ्याङ्कको विश्लेषण गर्दा विकट पहाडी तथा हिमाली जिल्लाहरूमा भने अझै पनि कांग्रेस र एमालेकै प्रभाव कायम रहेको देखिन्छ। बाजुरा, अछाम-१, अछाम-२ र डोटीमा नेपाली कांग्रेसले सर्वाधिक मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। त्यस्तै बझाङ र दार्चुलामा नेकपा एमाले पहिलो पार्टी बनेको छ। यी क्षेत्रमा रास्वपा भने तेस्रो वा चौथो स्थानमा सीमित भएको देखिन्छ। डोटीमा भने कांग्रेस र रास्वपा बीच निकै कडा प्रतिस्पर्धा भएको छ, जहाँ दुवै बीच केवल ३९ मतको मात्र अन्तर देखिएको छ।
कैलाली र कञ्चनपुरमा भने रास्वपाले क्लिन स्वीप गरेको छ। कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्र तथा कैलालीका पाँच वटै क्षेत्रमा रास्वपाले ठूला दलहरूलाई दोब्बर भन्दा बढी मतान्तरले पछि पारेको छ।
नेपाली कांग्रेसको बलियो गढ मानिने डडेल्धुरा तथा एमालेको प्रभाव क्षेत्र मानिने बैतडीमा समेत रास्वपाले भारी मत सहित पहिलो स्थान हासिल गरेको छ। अघिल्ला निर्वाचनमा निर्णायक मानिने नेकपा भने अधिकांश क्षेत्रमा तेस्रो वा चौथो स्थानमा झरेको देखिएको छ।
यसैबीच कैलालीमा बलियो मानिएको नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धनले कैलाली-१, २ र ३ मा सन्तोषजनक मत प्राप्त गरे पनि अन्य क्षेत्रमा भने उल्लेखनीय प्रभाव देखाउन सकेको छैन।





