काठमाडौ। सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्राविधिक जाँच पूरा गरी आज वा भोलि सम्म प्रतिवेदन पठाउने तयारी गरेको जनाएको छ।
सिआइबीका वरिष्ठ उपरीक्षक शिवकुमारी श्रेष्ठ का अनुसार सुर्खेतमा खटिएको टोली फर्किसकेको छ र मोबाइल डेटा, घटनाक्रमको समय रेखा लगायतका विषयमा सूक्ष्म विश्लेषण सम्पन्न भएको छ। “आज वा भोलिसम्म प्रतिवेदन पठाउने तयारी भइरहेको छ” उनले बताइन्।
यसैबीच, जिल्ला प्रहरी कार्यालय सुर्खेतको अनुसन्धान पनि अन्तिम चरणमा पुगेको छ। सुर्खेतका प्रहरी प्रमुख सुधीरराज शर्मा ले सिआइबीको प्रतिवेदन तथा केन्द्रीय विधि विज्ञान प्रयोगशाला बाट आउने परीक्षण रिपोर्ट पछि अनुसन्धान टुंगिने जानकारी दिए। उनका अनुसार टक्सिकोलोजिकल र बायो-सेरोलोजिकल परीक्षणका रिपोर्ट आउन बाँकी छन्।
प्रारम्भिक फरेन्सिक रिपोर्टले इनिशाको बलात्कार पछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पुष्टि गरिसकेको छ। घटनाका क्रममा अत्यधिक बल प्रयोग भएको र गम्भीर शारीरिक चोट लागेको देखिएको प्रहरीले जनाएको छ।
फागुन २३ गते बिहान ट्युसन जाने भन्दै घरबाट निस्किएकी इनिशा वीरेन्द्रनगर-१ स्थित सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानका क्रममा उनी एक किशोर सँगै त्यहाँ गएको सिसिटिभी फुटेजमा देखिएको छ।
घटनामा संलग्नताको आशंकामा हालसम्म चार जनालाई पक्राउ गरिएको छ। सबै १८ वर्षमुनिका रहेका छन्। ती मध्ये एक जना माथि बलात्कार तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ भने अन्यमाथि कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनापछि पीडितलाई समयमै अस्पताल नलैजाँदा ज्यान जोगिने सम्भावना गुमेको हुन सक्ने देखिएको छ।
यता, इनिशाको परिवारले न्याय नपाएसम्म शव दाहसंस्कार नगर्ने अडान लिएको छ। उनको शव कर्णाली प्रदेश अस्पताल मा राखिएको छ। घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्।





