समाचार

शीर्ष नेता माथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

काठमाडौं। जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार प्रहरीले प्रमुख राजनीतिक दलका शीर्ष नेता र उनका निकट समूहका सदस्यहरू माथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरेको छ।

आन्दोलनका क्रममा विभिन्न स्थानमा आगजनी भएपछि केही नेताहरूको घरबाट नगद रकम फेला परेपछि प्रारम्भिक अनुसन्धान सुरु भएको थियो। अब सो अनुसन्धानलाई थप विस्तार गर्दै व्यापक रूपमा अगाडि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

यसै क्रममा आइतबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। गृह मन्त्रालयका अनुसार खड्काको घरमा जलेको पैसा सम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो।

अनुसन्धानको दायरामा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनका परिवारका सदस्यहरू पनि परेका छन्। यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र उनकी छोरी गंगा दाहालको निवासबाट फेला परेको नगद रकमलाई आधार बनाएर थप अनुसन्धान भइरहेको छ।

ललितपुर महानगरपालिका-२६ सुनाकोठीस्थित गंगा दाहालको घरमा आगलागी हुँदा फेला परेको नगद रकमको मुचुल्का उठाएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

यसैगरी, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनका सचिवालयसँग सम्बन्धित केही व्यक्ति माथि पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु भएको प्रहरी स्रोतले जनाएको छ।

सेयर गर्नुहोस् :