काठमाडौ। बालबालिकासम्बन्धी कसुर मुद्दामा पक्राउ परेकी पूर्व प्रदेश सांसद रेखा शर्मालाई काठमाडौ जिल्ला अदालतले थुनामुक्त गर्दै बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार शर्मालाई हिरासतमा राखिरहन आवश्यक नदेखिएको ठहर गर्दै यस्तो आदेश जारी गरेको हो।
म्याद थपका लागि अदालतमा उपस्थित गराइएकी शर्मा माथि एक नाबालकलाई यातना दिई दास बनाएको गम्भीर आरोप लागेको थियो। तर सुनुवाइका क्रममा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र उच्च सरकारी वकिल कार्यालय पाटनले प्रमाण अभावका कारण मुद्दा नचलाउने निर्णय गरिसकेको तथ्य अदालतमा प्रस्तुत गरिएको थियो। अदालतले महान्यायाधिवक्ताको कार्यालयले समेत उक्त निर्णयलाई समर्थन गरिसकेको अवस्थामा पुनः थुनामा राखेर अनुसन्धान गर्नु औचित्यपूर्ण नदेखिएको उल्लेख गरेको छ।
आदेशअनुसार शर्मालाई हिरासतबाट मुक्त गरी आवश्यक अनुसन्धान प्रक्रिया भने जारी रहनेछ। शर्माको पक्षमा वरिष्ठ अधिवक्ता श्रीकान्त बरालसहितको कानुन व्यवसायी टोलीले बहस गरेको थियो।





