समाचार

५ वर्ष भन्दा बढि प्रहरी सेवामा, अन्ततः वर्दी त्यागेर विदेश जाने निर्णय

बाजुरा। देश सेवा गर्ने सपना धेरै युवाको मनमा हुन्छ। त्यही सपना बोकेर बाजुरा जिल्लाको गौमुल गाउँपालिकाका छवि थापाले पनि नेपाल प्रहरीमा भर्ना आवेदन दिएका थिए। कठिन प्रतिस्पर्धा, कडा शारीरिक परीक्षण र कठोर तालिम पार गर्दै उनले अन्ततः नेपाल प्रहरीको वर्दी लगाए। उनको लागि त्यो केवल जागिर पाउनु मात्र थिएन त्यो उनको जीवनको गर्विलो उपलब्धि थियो।

तर वर्दी लगाएपछि सुरु भएको वास्तविकता उनको अपेक्षा भन्दा धेरै फरक र कठोर रह्यो। छवि थापाले ५ वर्ष ५ महिना र ५ दिन सम्म नेपाल प्रहरीमा सेवा गरे। यस अवधिमा उनले देशका विभिन्न स्थानमा खटिँदै सुरक्षा व्यवस्थापन, भीड नियन्त्रण, चाडपर्व लक्षित ड्युटी र आकस्मिक घटनामा सक्रिय भूमिका निर्वाह गरे। “बाहिरबाट हेर्दा यो सेवा जति गौरवपूर्ण देखिन्छ, भित्रभित्रै हामीजस्ता हजारौं प्रहरी जवानहरू दैनिक रूपमा अनेक चुनौती र अभाव झेलिरहेका हुन्छौं” उनी भन्छन्।

प्रहरी सेवाको सबै भन्दा गम्भीर पक्ष हो अनिश्चित र लामो ड्युटी समय, कागजमा ८ घण्टाको ड्युटी उल्लेख भए पनि व्यवहारमा त्यो प्रायः १२ घण्टा वा त्यो भन्दा बढीमा परिणत हुन्छ। कतिपय अवस्थामा २४ घण्टा नै निरन्तर ड्युटी गर्नुपर्ने अवस्था आउँछ। रात दिनको कुनै निश्चित तालिका हुदैन। थापा सम्झिन्छन् “कहिले बिहान सुरु भएको ड्युटी राति अबेरसम्म चल्थ्यो, कहिले पूरै रात जागेर बिहान फेरि काममा लाग्नुपर्थ्यो। न राम्रोसँग खाना खान पाइन्थ्यो, न सुत्न पाइन्थ्यो।”

चाडपर्वहरू जुन सामान्य नागरिकका लागि परिवारसँग रमाउने अवसर हुन्, प्रहरीका लागि थप जिम्मेवारीको समय बन्छ। दशैं, तिहार जस्ता पर्वहरूमा पनि उनीहरू ड्युटीमै खटिनु पर्छ। बिदाको व्यवस्था भए पनि व्यवहारमा त्यसको उपयोग सहज छैन। जनशक्ति अभाव, आकस्मिक घटना र निरन्तर ड्युटीको चापले गर्दा धेरै प्रहरी जवानहरू आफ्ना व्यक्तिगत तथा पारिवारिक महत्वपूर्ण क्षणहरू गुमाउन बाध्य छन्।

यता आर्थिक अवस्था अर्को ठूलो चुनौती बनेको छ। महिना भरि जोखिमपूर्ण ड्युटीमा खटिएर पाउने तलबले आधारभूत आवश्यकता पूरा गर्नै कठिन हुने अवस्था रहेको छ। बढ्दो महँगी, पारिवारिक जिम्मेवारी र सीमित सेवा सुविधाका बीच उनीहरू निरन्तर संघर्ष गरिरहेका छन्। “देशका लागि काम गरे तर आफ्नै परिवारलाई राम्रोसँग धान्न सकिन। लामो ड्युटी, थकान र मानसिक दबाबका बीच काम गर्दा पनि अपेक्षित सुविधा र सम्मान नपाउँदा धेरै प्रहरी जवानहरू भित्रभित्रै निराश भइरहेका छन्। उनीहरूको पीडा प्रायः सार्वजनिक रूपमा सुनिँदैन छवि थापाले पीडा व्यक्त गर्छन्

उनका अनुसार, यो निर्णय रहरले होइन बाध्यताले आएको हो। ५ वर्षभन्दा बढी सेवा दिए पछि उनले वर्दी त्यागेर अहिले जापान जाने निर्णय गरेका छन्। “देशमै बसेर केही गर्न पाए हुन्थ्यो भन्ने चाहना अझै छ उनी भन्छन् तर परिवारको आफ्नो भविष्य हेर्नुपर्‍यो। वर्दीले सम्मान दियो तर जीवन चलाउन गाह्रो बनायो।”

छवि थापा एक उदाहरण पात्र हुन यो नेपाल प्रहरीका तल्लो तहमा कार्यरत हजारौं प्रहरीहरुको साझा यथार्थ हो।

सेयर गर्नुहोस् :