समाचार

मेल्लेख गाउँपालिका: सार्वजनिक पदमा रहेका व्यक्तिका सन्तान सरकारी विद्यालयमा अनिवार्य

अछाम। अछामको मेल्लेख गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्ने उद्देश्यले सार्वजनिक पदमा रहेका व्यक्तिका सन्तानलाई अनिवार्य रूपमा सरकारी विद्यालय मै अध्ययन गराउनुपर्ने नीति लागू गर्ने निर्णय गरेको छ।

गाउँसभाको १८औँ अधिवेशन अन्तर्गत सोमबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो। निर्णय अनुसार आगामी शैक्षिक सत्र २०८३ देखि गाउँपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा अन्य पदाधिकारीहरूले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालय मै भर्ना गर्नुपर्नेछ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्क बहादुर धामी द्वारा जारी सूचनामा उक्त व्यवस्था पालना नगरेमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।

गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउँदले सरकारी शिक्षा प्रणाली प्रति विश्वास बढाउने र विद्यालयको गुणस्तर सुधार गर्ने लक्ष्यले यस्तो नीति ल्याइएको बताए। उनका अनुसार जिम्मेवार पदमा रहेका व्यक्तिहरूले आफ्ना सन्तानलाई सरकारी विद्यालयमै पढाउँदा शिक्षक र विद्यालय व्यवस्थापन थप उत्तरदायी बन्ने अपेक्षा गरिएको छ।

निर्णय कार्यान्वयनका लागि गाउँपालिकाले शिक्षा, युवा तथा खेलकुद शाखा, वडा कार्यालय तथा सम्बन्धित विद्यालयहरूलाई जानकारी गराइसकेको जनाएको छ। साथै शैक्षिक सुधार अभियानमा सहकार्य गर्न सबै सरोकारवालालाई आग्रह गरिएको छ।

सेयर गर्नुहोस् :