धनगढी। सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाले ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ अभियान सुरु गरेको छ। अभियान अन्तर्गत धनगढीका मेयर गोपाल हमालको नेतृत्वमा एक टोली अपि हिमालको बेस क्याम्पतर्फ प्रस्थान गरेको छ।
सोमबार बिहान धनगढी बाट करिब ३० सदस्यीय टोली १० दिने यात्रामा निस्किएको हो। टोलीले अपि हिमालको बेस क्याम्पसम्म पुग्ने लक्ष्य लिएको जनाइएको छ।
मेयर हमालले सुदूरपश्चिमका प्राकृतिक तथा धार्मिक पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न स्थानीय तहबाट अभियान सुरु गरिएको बताए। उनका अनुसार यस अघि सञ्चालन गरिएको ‘सुन्दर सुदूरपश्चिम’ अभियानको निरन्तरता स्वरूप यो कार्यक्रम अघि बढाइएको हो।
टोलीमा जनप्रतिनिधि, कर्मचारी, व्यापारी तथा सर्वसाधारणको सहभागिता रहेको छ। उनीहरुलाई धनगढीबाट बाजागाजा र फूलमाला सहित बिदाइ गरिएको थियो।
यस अभियानले सुदूरपश्चिमका पर्यटकीय सम्भावनालाई उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ।





