जनकपुर। मधेश प्रदेशको राजधानी जनकपुरधाम धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण सहरका रूपमा पहिचान बनाउँदै प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्राचीन मिथिला राज्यका राजा जनकको राजधानी, भगवान् रामको ससुराली तथा सीताको जन्मस्थलका रूपमा परिचित यस स्थानको धार्मिक महत्त्व अत्यन्त उच्च मानिन्छ।
जनकपुरधाममा जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर र सङ्कटमोचन हनुमान मन्दिरलगायतका प्रमुख धार्मिक स्थल रहेका छन्। साथै रसिक निवास, अग्निकुण्डकुटी, विहारकुण्ड, रानीपाटी, पिपराकुटी र हनुमत दरबारजस्ता ऐतिहासिक स्थलहरूले पनि पर्यटक आकर्षित गर्दै आएका छन्। गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागरजस्ता धार्मिक सरोवरहरूले यसको आध्यात्मिक महत्वलाई थप सुदृढ बनाएका छन्।
विवाह पञ्चमी, रामनवमी, जानकी नवमी, छठ तथा अन्य पर्व–उत्सवका अवसरमा आन्तरिक र बाह्य पर्यटकको ठूलो भीड लाग्ने गरेको छ। वाल्मीकि रामायण, भागवत पुराण र विष्णु पुराणजस्ता धार्मिक ग्रन्थमा जनकपुरलाई पुण्यभूमि र तीर्थस्थलका रूपमा वर्णन गरिएको पाइन्छ।
इतिहासअनुसार वैदिक कालदेखि तीर्थयात्रीको आगमन हुँदै आएको यस क्षेत्रमा ह्वेनसाङदेखि विभिन्न विद्वान् र साधकहरूको उपस्थितिले यसको महत्त्व बढाएको छ। आधुनिक कालमा पनि विदेशी अनुसन्धानकर्ता र पर्यटकको आगमनले अन्तर्राष्ट्रिय पहिचान विस्तारमा योगदान पुर्याएको छ।




