समाचार

गुमनाम एमाले, नेतृत्व संकट गहिरिँदै : चुनावी पराजय पछि गतिविधि ठप्प जस्तै

काठमाडौँ । पछिल्लो राजनीतिक परिदृश्यमा नेकपा एमाले भित्रको गतिविधि सुस्त बन्दै गएको देखिएको छ। जेनजी आन्दोलन पछि सत्ताबाट बाहिरिएको एमाले फागुन २१ मा सम्पन्न निर्वाचनमा अपेक्षाकृत कमजोर नतिजा ल्याएपछि पार्टी भित्र गम्भीर संकट र अन्योलको अवस्था देखिएको हो।

२७५ सदस्यीय प्रतिनिधि सभामा केवल २५ सिटमा सीमित हुँदै तेस्रो दल बनेको एमाले भित्र त्यस यता ठोस समीक्षा नहुनु, नेतृत्वगत विवाद र आन्तरिक असन्तुष्टिले संगठनात्मक गतिविधि लगभग शिथिल बनेको नेताहरू नै स्वीकार गर्छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य समस्या, पक्राउ पछि उत्पन्न राजनीतिक परिस्थिति तथा चुनावी हारको जिम्मेवारी नलिने नेतृत्वको अडानका कारण नियमित पार्टी बैठक समेत बस्न नसकेको केहि नेताहरूको भनाइ छ।

एमाले सचिव भानुभक्त ढकालका अनुसार अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण हाल सम्म बैठक बस्ने निश्चित समय तय हुन सकेको छैन। यता कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले केही बैठक बोलाए पनि त्यसपछि संगठनात्मक गतिविधि अघि बढ्न सकेको छैन।

पार्टीभित्र नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहस चर्किए पनि त्यसअनुसार निर्णय नहुँदा युवा पुस्तामा असन्तुष्टि बढेको छ। विशेष गरी संसदीय दलको नेतृत्व चयन देखि नै देखिएको विवादले आन्तरिक असहमति अझ बढाएको नेताहरू बताउँछन्।

त्यस्तै, केही युवा नेताहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेका छन् भने नेतृत्व तहमा स्पष्ट निर्णय नहुँदा कार्यकर्ता पङ्क्ति समेत अन्योलमा परेको देखिन्छ।

पार्टीभित्रको वर्तमान अवस्थालाई विश्लेषण गर्दै एक केन्द्रीय सदस्यले भने, “निर्वाचनपछि ठोस समीक्षा हुन सकेको छैन, नेतृत्व जिम्मेवारी लिन तयार नहुँदा संगठन अनिर्णयको बन्दीजस्तै बनेको छ।”

यसरी आन्तरिक विवाद, नेतृत्व संकट र रणनीतिक अस्पष्टताका कारण एमालेको राजनीतिक गतिविधि हाल गम्भीर सुस्त अवस्थामा पुगेको देखिन्छ।

सेयर गर्नुहोस् :