काठमाडौं। नाबालिगको डिम्ब झिकेको आरोपमा अनुसन्धानमा रहेकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्माले सञ्चालन गर्दै आएको बीएन्डबी आईभीएफ एन्ड इन्स्टिच्युट सेन्टर स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति नलिएको पाइएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सेन्टर सञ्चालनका लागि आवेदन दिइएको भए पनि हाल सम्म आवश्यक स्वीकृति प्रदान गरिएको छैन। अनुमति नलिई आईभीएफ सेवा तथा डिम्ब निकाल्ने, भण्डारण गर्ने लगायतका गतिविधि सञ्चालन गर्नु कानुन विपरीत हुने मन्त्रालयको भनाइ छ।
नेपाल मेडिकल काउन्सिलको अनुगमन टोलीले २८ साउनमा ग्वार्को स्थित सेन्टरमा पुगेर निरीक्षण गरेको थियो। तर टोलीले डा. शर्मासँग प्रत्यक्ष भेट गर्न सकेन। करिब साढे तीन घण्टा कुरेर पनि उनी उपस्थित नभएपछि टोली फर्किएको काउन्सिलले जनाएको छ।
अनुगमनका क्रममा आईभीएफ सेवासँग सम्बन्धित महत्वपूर्ण कागजात तथा बिरामीको विस्तृत विवरण समेत सहज रूपमा उपलब्ध नभएको काउन्सिलले जनाएको छ। ओपीडीको तथ्यांकमा पछिल्लो २८ महिनामा करिब १३ हजार ५ सय बिरामी हेरेको देखिए पनि ती मध्ये आईभीएफ वा डिम्ब निकाल्ने प्रक्रियामा संलग्न बिरामीको विस्तृत विवरण भने प्राप्त नभएको काउन्सिलको भनाइ छ।
काउन्सिलले डा. शर्माको शैक्षिक तथा व्यावसायिक प्रमाणपत्र र तालिम सम्बन्धी कागजात समेत संकलन गरेको छ। बंगलादेशमा स्नातकोत्तर अध्ययन गरेको अवधिसँगै अर्को कार्यक्रम गरेको देखिएपछि त्यसको वैधानिकता र अध्ययन अवधि बारे समेत अनुसन्धान भइरहेको छ।
नाबालिगको डिम्ब निकालिएको आरोप सार्वजनिक भएपछि काउन्सिलले डा. शर्मासँग स्पष्टीकरण मागेको थियो। उनले लिखित जवाफ मार्फत आरोप अस्वीकार गरे पनि काउन्सिलले थप मौखिक स्पष्टीकरण लिन खोजेको थियो। तर अनुगमन टोलीसँग भेट नगरे पछि काउन्सिलले थप अनुसन्धान अघि बढाउने जनाएको छ।
यस प्रकरणमा पीडित किशोरीकी आमाले समेत काउन्सिलमा उजुरी दिएकी छन्। काउन्सिलका अनुसार डा. शर्मा विरुद्ध हालसम्म चार पाँचवटा उजुरी परिसकेका छन्।
यता, १७ वर्षीया किशोरीको डिम्ब निकालिएको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी परेपछि डा. शर्माले सरकारी वकिल कार्यालयमा बयान दिएकी थिइन्। बयानका क्रममा उनले आफूले कानुन विपरीत कुनै काम नगरेको र सम्बन्धित व्यक्तिको मञ्जुरीमा प्रक्रिया भएको दाबी गरेकी थिइन्। बयानपछि सरकारी वकिलको निर्देशनमा उनलाई हाजिरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानका क्रममा डा. शर्मा र कथित बिचौलिया राधिका गोतामे बीच आर्थिक कारोबार समेत भएको विवरण बाहिर आएको छ। गोतामेले पीडित किशोरी र आईभीएफ सेन्टरबीच बिचौलियाको भूमिका खेलेको आरोप छ।
यस अघि पनि व्यावसायिक आचरण र बिरामीसम्बन्धी विवादमा डा. शर्मा काउन्सिलको कारबाहीमा परिसकेकी छन्। काउन्सिलले २०७९ सालमा उनको चिकित्सकीय लाइसेन्स तीन महिनाका लागि निलम्बन गरेको अभिलेखमा उल्लेख छ।
काउन्सिलले स्थलगत अनुगमन, चिकित्सकको स्पष्टीकरण, सेन्टरबाट संकलित कागजात, शैक्षिक प्रमाणपत्र तथा प्रहरी अनुसन्धानबाट प्राप्त तथ्य अध्ययन गरी प्रतिवेदन पूर्ण बैठकमा पेस गर्ने तयारी गरेको छ। त्यसपछि मात्रै डा. शर्मा माथि थप कारबाही बारे निर्णय हुने काउन्सिलले जनाएको छ।




