काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको बहस चलाउने नेताहरूलाई ‘आवारा’ भनेपछि एमाले भित्र विवाद चर्किएको छ।
ओलीको अभिव्यक्ति प्रति असन्तुष्टि जनाउँदै एमाले नेतृ नविना लामा सहितका नेताहरूले सामाजिक सञ्जालमा ‘म आवारा’ अभियानसमेत चलाएका छन्। उनीहरूले पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस गर्नेलाई ‘आवारा’ भन्न नमिल्ने बताएका छन्।
नेतृ लामाले आफूहरूले पार्टी छाड्न नभई पार्टीभित्रै बसेर नयाँ एजेन्डा र नेतृत्व बारे बहस सुरु गरेको बताइन्। उनका अनुसार पार्टीको इतिहास र संगठन जोगाउँदै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरिएको हो।
लामाले ओलीलाई आफूहरूले ‘केपी बा’ भनेर सम्मान गर्दै आएको उल्लेख गर्दै मन नपर्ने कुरा उठाउँदैमा ‘आवारा’ भन्न नमिल्ने बताइन्। उनले भनिन्, ‘हिजो मन पर्दा छोराछोरी भन्ने, मन नपर्दा आवारा भन्ने कहीँ हुन्छ ?’
उनले आफूहरू अराजक गतिविधिमा संलग्न नभएको र लामो समयदेखि पार्टी तथा संगठनमा काम गर्दै आएको बताइन्। ओलीले पार्टी छाड्न चुनौती दिए पनि आफूहरूले पार्टी नछाड्ने उनको भनाइ छ।
लामाले ओलीको नेतृत्व असफल भइसकेको दाबी गर्दै अब युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताइन्। उनका अनुसार ओली प्रधानमन्त्री र पार्टी अध्यक्षका रूपमा लामो समय नेतृत्वमा रहिसकेकाले एमालेमा पुस्तान्तरणको आवश्यकता देखिएको हो।
उनले पार्टी अध्यक्ष ओलीले बहुसंख्यक नेता–कार्यकर्ताबाट उठेका प्रश्न र असन्तुष्टिलाई सम्मानपूर्वक ग्रहण गर्नुपर्ने बताइन्। पार्टीको विधि, पद्धति र संरचना अनुसार नेतृत्व हस्तान्तरणको प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ।
लामाले आफूहरूको अभियान कुनै व्यक्तिगत पद वा राजनीतिक लाभका लागि नभई संकटमा परेको पार्टीलाई पुनर्गठन गर्न आवश्यक बहसका रूपमा अघि बढाइएको बताएकी छन।




