काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र चुनावी गतिविधिलाई तीव्र बनाउने निर्णय गरेको छ। पार्टीले उम्मेदवार छनोट समिति गठन गर्नुका साथै देशभर ‘हामी आउँदै छौं’ अभियान सञ्चालन गर्ने भएको छ।
शनिबार काठमाडौंको वनस्थली स्थित केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले निर्वाचन केन्द्रित विभिन्न निर्णय गरेको हो।
बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि महामन्त्री विपिन आचार्यको संयोजकत्वमा केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ। समितिको सदस्यमा मिलन लिम्बू, रहबर अन्सारी, डा. तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम र जनक सिंह धामीलाई मनोनीत गरिएको छ। सातै प्रदेशका सभापतिलाई समितिको पदेन सदस्य रहने व्यवस्था गरिएको छ।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार उम्मेदवार छनोटलाई व्यवस्थित र प्रभावकारी बनाउन समिति गठन गरिएको हो।
यसैगरी, बैठकले असोज २० देखि २७ गतेसम्म देशव्यापी रूपमा ‘हामी आउँदै छौं’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। अभियानका क्रममा रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरू देशका ७७ वटै जिल्लाका ७५३ स्थानीय तहमा पुग्नेछन्।
उनीहरूले स्थानीय नागरिक, पार्टीका नेता–कार्यकर्ता तथा विभिन्न सरोकारवालासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या, अपेक्षा र सुझाव संकलन गर्ने पार्टीले जनाएको छ। अभियानमा सबै केन्द्रीय सदस्य र सांसदलाई अनिवार्य रूपमा परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ।
निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठनात्मक संरचनालाई समेत थप व्यवस्थित गर्ने तयारी गरेको छ। बैठकले विभिन्न १३ वटा विभागलाई पूर्णता दिँदै प्रमुख तथा उपप्रमुखको जिम्मेवारी तोकेको छ।
प्रवास सम्पर्क विभागको प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुनी मामिला विभागमा मोहनलाल आचार्य, सुशासन विभागमा सुदीप ढकाल र कृषि विभागमा ज्ञानेन्द्र महतालाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, सामाजिक न्याय (लैङ्गिक समानता) विभागमा रुबिना आचार्य, विधायन तथा संसदीय मामिला विभागमा सुलभ खरेल, श्रम तथा रोजगारी विभागमा दीपक कुमार साह (महोत्तरी), आपूर्ति तथा बजार सुशासन विभागमा शर्मिला खनाललाई जिम्मेवारी दिइएको छ।
विज्ञान तथा प्रविधि विभागमा आनन्दबहादुर चन्द, संस्कृति तथा पर्यटन विभागमा डा. धनञ्जय रेग्मी, वातावरण तथा जलवायु विभागमा धर्म केसी तथा सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागमा रिमा विश्वकर्मालाई प्रमुख तोकिएको छ।
अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागको उपप्रमुखमा डिल्लिश्वर कार्की (रोहन) चयन भएका छन्।
बैठकले पार्टीको वर्तमान केन्द्रीय कार्यालय अन्यत्र सार्ने विषयमा पनि छलफल गरेको छ। उपत्यकाभित्र पार्टीका लागि पायक पर्ने स्थानमा जग्गा वा घर खरिद गर्ने उद्देश्यले उपयुक्त स्थान खोजी गर्न सदस्य तथा शुभेच्छुकलाई आग्रह गर्ने निर्णय गरिएको छ।
यसअघि मधेस प्रदेशमा पार्टी संगठनभित्र देखिएको समस्या अध्ययन गर्न सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठन गरिएको कार्यदलले तयार पारेको ‘अडिट रिपोर्ट’ पनि बैठकमा प्रस्तुत गरिएको थियो। कार्यदलले उक्त प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएको छ।
मधेस प्रदेशको संगठनात्मक अवस्थाबारे तयार पारिएको प्रतिवेदनको अध्ययनपछि आवश्यक निर्णय लिइने प्रवक्ता खरेलले जानकारी दिएका छन्।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा रास्वपाले संगठन विस्तार, उम्मेदवार छनोट, जनतासँग प्रत्यक्ष संवाद र विभागीय संरचनालाई पूर्णता दिने कामलाई एकसाथ अघि बढाएको हो।





