काठमाडौं । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गते देखि खुला गरिने भएको छ।
यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवाला निकायको बैठकले लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला गर्ने निर्णय गरेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार लगातारको वर्षा, बाढी तथा पहिरोका कारण अवरुद्ध भएका मुख्य राजमार्ग तत्काल मर्मतसम्भार गरी यातायात सञ्चालन सहज बनाउने सरकारको प्रतिबद्धता पछि व्यवसायी अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएका हुन्।
दसैँमा ठूलो संख्यामा यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने भएकाले यात्रुको सहज आवागमनका लागि अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको हो। चाडपर्वका बेला हुने यात्रुको चापलाई व्यवस्थित गर्न यातायात तथा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल भएको थियो।
बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।




