समाज

बाढी प्रभावितका लागि नयाँ सहर बनाउने सरकारको योजना

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढीबाट प्रभावित नागरिकको पुनःस्थापनाका लागि नयाँ सहर विकास गर्ने सरकारको योजना रहेको बताएका छन्।

प्रतिनिधिसभाको विकास समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले बाढीले क्षति पुर्‍याएको स्थानमै पुनः बस्ती बसाल्न सम्भव नहुने भन्दै सुरक्षित स्थानमा नयाँ सहर निर्माण गर्ने अवधारणा अघि सारिएको जानकारी दिए।

उनका अनुसार प्रस्तावित नयाँ सहरमा उद्योग, अस्पताल, विद्यालयलगायत आवश्यक सबै पूर्वाधार तथा सेवा सुविधा उपलब्ध गराइनेछ। त्यसका लागि आवश्यक जग्गा खरिद गरेर व्यवस्थित बस्ती विकास गर्ने सरकारको तयारी रहेको उनले बताए।

मन्त्री लम्सालले पछिल्लो बाढीबाट स्थानीय तहलाई विपद् व्यवस्थापनका लागि थप सक्षम र पूर्वाधार युक्त बनाउनु पर्ने पाठ सिकिएको समेत बताए। नयाँ पुनःस्थापना योजना भूकम्प पछिको जस्तो क्षति भएकै स्थानमा बस्ती फर्काउने भन्दा फरक अवधारणामा अघि बढाइने उनको भनाइ छ।

सेयर गर्नुहोस् :