बाजुरा। धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमले फोरजी सेवा विस्तार गरेसँगै टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनमा आएको छ। समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिका क्षेत्रमा सोमबार देखि मोबाइल तथा इन्टरनेट सेवा उपलब्ध भएको हो।
जनैपूर्णिमाको अवसरमा लाग्ने धार्मिक मेलाको पूर्वसन्ध्यामा सेवा सञ्चालनमा आएपछि बडीमालिका पुग्ने तीर्थयात्री, पर्यटक, स्थानीयलाई सञ्चार सम्पर्क सहज हुनेछ।
सोमबार दिउँसो करिब १ बजे टावर जडानको काम सम्पन्न भए पछि फोरजी सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ। टावर बडीमालिका क्षेत्रमा करिब ४ हजार २३० मिटर उचाइमा रहेको लौरी विनायकमा स्थापना गरिएको हो।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट सेवा सञ्चालनको उद्घाटन गर्दै दुर्गम भूगोलका नागरिकलाई सञ्चार सेवाबाट वञ्चित हुन नदिने सरकारको नीति रहेको बताए। उनले टावर निर्माणमा खटिएका नेपाल टेलिकमका कर्मचारी, सामग्री ढुवानीमा सहयोग गर्ने नेपाली सेना तथा स्थानीय जनप्रतिनिधिलाई धन्यवाद दिए।
बडीमालिकामा टावर निर्माणका लागि सडक मार्फत सामग्री ढुवानी गर्न कठिन भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत आवश्यक उपकरण तथा निर्माण सामग्री पुर्याइएको थियो। उच्च हिमाली भूगोल र प्रतिकूल मौसमका कारण टावर जडानका क्रममा प्राविधिक टोलीले चुनौती सामना गर्नुपरेको नेपाल टेलिकमले जनाएको छ।
सञ्चारमन्त्री तिमिल्सिनाले सेवा सञ्चालन पछि बडीमालिकामा खटिएका नेपाल टेलिकमका प्राविधिकसँग भिडियो कल मार्फत संवाद गरी सेवाको अवस्था बारे जानकारी समेत लिएका थिए।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले दुर्गम तथा सञ्चार पहुँच कमजोर भएका क्षेत्रमा सेवा विस्तारलाई प्राथमिकता दिइएको बताइन्। व्यावसायिक लाभ भन्दा पनि सञ्चार सेवाको पहुँच आवश्यक रहेका क्षेत्रमा पूर्वाधार विस्तारलाई प्राथमिकता दिइरहेको उनको भनाइ छ।
बडीमालिकामा सञ्चार सेवा विस्तारका लागि सरकारले गत साउन ८ गते नेपाल टेलिकमलाई तत्काल काम अघि बढाउन निर्देशन दिएको थियो। करिब एक महिनाको तयारीपछि सेवा सञ्चालनमा ल्याइएको हो।
बडीमालिका मन्दिर क्षेत्र करिब ४ हजार २०० मिटर उचाइमा रहेको छ। धार्मिक तथा पर्यटकीय महत्वका कारण हरेक वर्ष यहाँ ठूलो संख्यामा तीर्थयात्री तथा पर्यटक पुग्ने गरेका छन्। सञ्चार सेवा विस्तारले तीर्थयात्रीसँगै सुरक्षा, उद्धार तथा अन्य सरकारी निकायको काममा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल टेलिकमले यस अघि जुम्लाको हाट सिँजा क्षेत्र सहित विभिन्न उच्च हिमाली तथा दुर्गम क्षेत्रमा फोरजी सेवा विस्तार गरिसकेको छ। देशका अन्य सञ्चार पहुँच कमजोर भएका क्षेत्रमा समेत सेवा विस्तार गर्ने योजना अघि बढाइएको टेलिकमले जनाएको छ।




