काठमाडौं। बारामा बालिकाको बलात्कार पछि हत्या घटनामा पक्राउ परेका आरोपी किशोरको बयानको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ।
अनुसन्धानका क्रममा रेकर्ड गरिएको भनिएको भिडियो फेसबुक, एक्स, टिकटक र रेडिट लगायत सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको हो। भिडियोमा आरोपी किशोरले घटनाबारे विवरण दिइरहेको देखिन्छ भने नेपाल प्रहरीका कर्मचारीले नै उक्त दृश्य खिचिरहेको प्रस्ट देखिन्छ।
अनुसन्धानका क्रममा गोप्य राखिनुपर्ने भिडियो प्रहरी नियन्त्रणबाटै बाहिरिएपछि घटनाको अनुसन्धान प्रक्रिया र आरोपीको गोपनीयता माथि प्रश्न उठेको छ।
मधेश प्रदेश प्रहरी कार्यालयले भिडियो कसरी बाहिरियो भन्ने विषयमा आन्तरिक छानबिन थालेको जनाएको छ। मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले भिडियो चुहावटबारे गम्भीर रूपमा अनुसन्धान भइरहेको बताएका छन्।
प्रचलित कानुनले अनुसन्धानका क्रममा रहेका व्यक्तिको पहिचान खुल्ने सामग्री सार्वजनिक गर्न रोक लगाएको छ। वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ ले अनुसन्धानको सिलसिलामा रहेका व्यक्ति विरुद्ध अभियोगपत्र दायर नभए सम्म त्यस्तो व्यक्तिलाई सार्वजनिक गर्न नहुने व्यवस्था गरेको छ।
यसैबीच, प्रेस काउन्सिल नेपालले समेत अदालतको फैसला हुनु अघि नाबालकको बयान सार्वजनिक गर्नु न्यायिक प्रक्रिया र गोपनीयताको गम्भीर उल्लङ्घन भएको जनाएको छ।
भिडियो सार्वजनिक गर्ने तथा प्रहरीको नियन्त्रणमा रहेको सामग्री बाहिर ल्याउने कार्यमा को संलग्न छन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




