समाज

बडीमालिकामा आज देखि पूजा तथा मेला सुरु

बाजुरा। बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा आज देखि पूजा तथा मेला सुरु भएको छ। मुख्य पूजाको दिन भक्तजनको अत्यधिक भीड हुने भएकाले यस वर्ष अगावै देखि पूजा सुरु गरिएको हो।

बडीमालिका भगवती मन्दिरका पुजारी नेत्र पाध्यायका अनुसार यस वर्ष मुख्य पूजा भदौ ११ गते हुनेछ। एकै दिन ठूलो संख्यामा दर्शनार्थी आउने भएकाले व्यवस्थापन सहज बनाउन आज देखि नै पूजा सुरु गरिएको हो। गत वर्ष बडीमालिकामा ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए।

देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजन बडीमालिका आउने गरेका छन्। बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्री सहित सरकारी टोली आउने परम्परा छ। डोटीबाट सरकारी पूजा सामग्री ‘पेटारो’ सहितको टोली साउन २८ गते नै बडीमालिका तर्फ हिँडिसकेको छ।

यस वर्ष पनि दर्शनार्थीको संख्या बढ्ने अनुमान गरिएको छ। गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा नयाँ मन्दिर निर्माण गरेपछि बडीमालिकाको आकर्षण थप बढेको स्थानीयको भनाइ छ।

पूजा तथा मेला व्यवस्थापनका लागि बडीमालिका नगरपालिकाले जिल्ला प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा तयारी तीव्र पारेको छ। नगर प्रमुख अमरबहादुर खड्काका अनुसार मेला सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १४ बुँदे निर्णय गरिएको छ।

मन्दिर जाने बाटोमा संकेत चिह्न, साइनबोर्ड तथा सूचना पाटी राखिनेछ। धार्मिक क्षेत्रको पवित्रता कायम गर्न मेला अवधिभर मदिरा, लागूपदार्थ तथा मासुजन्य वस्तु निषेध गरिएको छ।

दर्शनार्थी बिरामी परे, लेक लागे वा अन्य कारणले आपत्कालीन उद्धार आवश्यक परे तत्काल उद्धार गर्ने व्यवस्था मिलाइएको छ। स्थानीय तहले जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयसँग समन्वय गर्ने तथा आवश्यक परे सुरक्षा निकाय र नेपाली सेनाको सहयोगमा उद्धार गरिनेछ।

यस वर्ष बडीमालिका क्षेत्रमा सञ्चार सुविधा विस्तारका लागि नेपाल टेलिकमको फोरजी टावरसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। खराब मौसमका कारण उपकरण जडानमा ढिलाइ भए पनि मेला अगावै सेवा सञ्चालन गर्ने तयारी रहेको प्रशासनले जनाएको छ।

सडक सञ्जालको अभावका कारण उपकरण स्थलमार्गबाट पुर्‍याउन कठिन भएपछि साउन २६ गते हेलिकप्टरमार्फत उपकरण त्रिवेणी पाटन सम्म पुर्‍याइएको थियो। तर, मौसम खराब भएपछि उपकरण जडानका लागि गएको प्राविधिक टोली फर्किएको नेपाल टेलिकमले जनाएको छ।

बडीमालिका क्षेत्रमा पछिल्ला वर्षमा धार्मिकसँगै पर्यटकीय आकर्षण पनि बढ्दै गएको छ। करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिका क्षेत्रका त्रिवेणी, २२ पाटन, खेतीबेती, विष्णुपानी र धर्मद्वार प्रमुख आकर्षण हुन्।

हिमाली दृश्य, हराभरा पाटन, रंगीचंगी फूल तथा दुर्लभ वन्यजन्तुका कारण बडीमालिका क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन समेत बढ्दै गएको छ।

सेयर गर्नुहोस् :