काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किने दिनमै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री खनाल शुक्रबार दिउँसो भारत प्रस्थान गर्ने तय भएको छ। भ्रमणका क्रममा उनले भारतीय समकक्षी एस जयशंकर सँग औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ।
मन्त्री खनालको भ्रमणको मुख्य उद्देश्य नेपाल-भारतबीचका आपसी सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल गर्नु रहेको बताइएको छ। साथै, पछिल्लो समय भएका उच्चस्तरीय भेटवार्तामा उठाइएका विषयलाई औपचारिक प्रक्रियामा अघि बढाउने तयारी समेत रहेको स्रोत बताएको छ।
यस अघि भारत भ्रमणमा रहेका रास्वपा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गरेका थिए। उक्त भेटलाई ‘विकास कूटनीति’ केन्द्रित संवादका रूपमा व्याख्या गरिएको छ।
लामिछानेले भारतीय प्रधानमन्त्रीसँगको भेटमा नेपाल-भारत सहकार्य, विकास परियोजना तथा समयसीमा सहितका योजना बारे छलफल भएको बताएका छन्। भारतीय प्रधानमन्त्री मोदीले पनि सामाजिक सञ्जालमार्फत साझा समृद्ध भविष्यका लागि सहकार्य गर्न तयार रहेको संकेत दिएका थिए।
भारत भ्रमणका क्रममा लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह तथा भाजपा अध्यक्ष नितिन नविन लगायतसँग पनि भेटवार्ता गरेका थिए।
स्रोतका अनुसार मन्त्री खनालको आगामी भ्रमणका क्रममा दुई देशबीचको विकास सहकार्य, कूटनीतिक प्राथमिकता तथा सम्भावित नयाँ सम्झौताबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ। केही महत्त्वपूर्ण समझदारीपत्र (MoU) मा समेत हस्ताक्षर हुन सक्ने सम्भावना रहेको बताइएको छ।





