समाचार

राष्ट्रपति कार्यालयबाट लुटिएको हात्तीको दाह्रा फेला, पाँच जना पक्राउ

काठमाडौं। जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते राष्ट्रपति कार्यालय शीतल निवासबाट लुटिएको हात्तीको दाह्रा सहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार पक्राउ परेकाहरूको साथबाट हात्तीको दाह्रा मात्र नभई प्रतिबन्धित लागुऔषध समेत बरामद गरिएको छ। मनमैजु क्षेत्रमा अवैध रूपमा हात्तीको दाह्रा ओसारपसार तथा बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले कारबाही अघि बढाएको हो।

प्रहरीले सुरुमा तारकेश्वर नगरपालिका-९ मनमैजुबाट २५ वर्षीय राजीव महर्जन, २६ वर्षीय टेकप्रसाद गुरुङ र २७ वर्षीय आयुष महर्जनलाई नियन्त्रणमा लिएको थियो। उनीहरू माथि गरिएको प्रारम्भिक सोधपुछका क्रममा राजीव महर्जनको घर नजिकैको खाली जग्गामा गाडेर राखिएको अवस्थामा हात्तीका दुई वटा दाह्रा फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, राजीवको कोठा खानतलासी गर्दा ट्रामाडोल नामक १५० क्याप्सुल लागुऔषध समेत बरामद भएको छ।

अनुसन्धानका क्रममा थप संलग्नता खुलेपछि टोखा नगरपालिका-२ सपनतीर्थका २४ वर्षीय पुरन बोहरालाई पनि पक्राउ गरिएको छ। उनको बयानका आधारमा हात्तीको दाह्राका केही टुक्रा मनमैजुका २० वर्षीय सन्तबहादुर भुजेललाई दिएको खुलासा भएको थियो। सोही सूचनाका आधारमा गरिएको खोजतलासमा भुजेलको कोठाबाट झोला भित्र प्लास्टिकको बोरामा लुकाइराखिएको थप दुई वटा दाह्राका टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका मध्ये राजीव महर्जन, आयुष महर्जन र टेकप्रसाद गुरुङ विरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।

त्यसैगरी, पुरन बोहरा र सन्तबहादुर भुजेललाई वन्यजन्तु संरक्षण ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली र डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :