समाचार

पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढाइने : ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक मार्फत पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढाइने बताएका छन्।

अन्तरपार्टी निर्देशन जारी गर्दै अध्यक्ष ओलीले निर्वाचनमा व्यहोर्नुपरेको पराजय पछि पार्टीको एक हिस्सा निराश र पलायनको अवस्थामा पुगेको उल्लेख गर्दै संगठन भित्र आशा र उत्साह जगाउन आवश्यक रहेको बताएका हुन्।

उनले वर्तमान परिस्थितिमा पार्टीभित्र थप मजबुत एकताको आवश्यकता औंल्याउँदै संगठनलाई पुनः सक्रिय र सुदृढ बनाउन सदस्यता नवीकरण अभियान मार्फत पुनर्गठनको काम अघि बढाइने बताए।

“निर्वाचनमा व्यहोर्नु परेको गम्भीर पराजयका कारण पार्टीको एउटा हिस्सा निराश र पलायन हुन खोजेको अवस्था छ। यस्तो अवस्थामा सुधार ल्याउनु र पार्टी पंक्तिमा आशाको सञ्चार गर्नु आवश्यक छ ” ओलीले निर्देशनमा उल्लेख गरेका छन्।

उनले चुनौती जति जटिल भए पनि त्यसको समाधान सम्भव रहेको बताउँदै पार्टी कार्यकर्तालाई सक्रिय रूपमा संगठन निर्माणमा जुट्न आग्रह गरेका छन्। विगतमा विभिन्न कठिन परिस्थितिलाई सामना गर्दै एमाले राष्ट्रिय राजनीतिमा स्थापित भएको स्मरण गराउँदै उनले वर्तमान संकटबाट पनि पार्टी बाहिरिने विश्वास व्यक्त गरे।

अध्यक्ष ओलीले निर्वाचन परिणाम अपेक्षा अनुसार नभएको स्वीकार गर्दै त्यसबारे विस्तृत समीक्षा प्रतिवेदन सार्वजनिक गरिने बताए। निर्वाचन अघि र पछिका घटनाक्रम, पार्टीभित्रका अन्तरविरोध तथा राजनीतिक परिस्थितिका कारण उत्पन्न चुनौती बारे समीक्षा गरिने उनको भनाइ छ।

उनले निर्वाचनको समीक्षा तथा पार्टी पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरिएको जानकारी दिए। उक्त कार्यदलले वैचारिक, राजनीतिक तथा संगठनात्मक सुदृढीकरणका लागि सुझाव सहितको प्रतिवेदन तयार गर्नेछ।

ओलीले मुलुकमा लोकप्रियतावादको आवरणमा अराजकता, स्वेच्छाचारिता र अधिनायकवाद तर्फ लैजाने प्रयास भइरहेको दाबी गर्दै पार्टी कार्यकर्तालाई त्यसप्रति सचेत रहन आग्रह गरेका छन्। साथै वर्तमान सरकार र निर्वाचन आयोग प्रदेशसभा तथा स्थानीय तहको निर्वाचनको तयारीमा जुटिरहेको जानकारी पनि उनले दिएका छन्।

उनले पार्टीलाई चुनौतीको सामना गर्न सक्षम संस्थागत शक्ति रहेको उल्लेख गर्दै वर्तमान अवस्थामा “एकता, एकता र अझ उन्नतस्तरको एकता” आवश्यक रहेको बताएका छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :