काठमाडौं। नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) खेलाडी रबिन्द्र ढाँटले प्रतिष्ठित ‘रोड टु युएफसी सिजन-५’ अन्तर्गत सेमिफाइनलमा स्थान बनाएका छन् । मकाउ स्थित ग्यालेक्सी एरिनामा सम्पन्न ब्यान्टमवेट क्वार्टरफाइनलमा उनले फिलिपिन्सका फाइटर किम्बर्ट एलिन्टोजोनलाई दोस्रो राउन्ड मै पराजित गर्दै ऐतिहासिक सफलता हात पारेका हुन् ।
‘बझाङका बाघ’ उपनामले परिचित रबिन्द्रको यो सफलता नेपाली एमएमएका लागि ऐतिहासिक मानिएको छ । विश्वकै प्रतिष्ठित फाइटिङ लिग युएफसीको आधिकारिक कन्ट्रयाक्ट नजिक पुग्ने क्रममा उनी अब उपाधिका लागि दुई जित टाढा रहेका छन् । कुनै पनि नेपाली फाइटर ‘रोड टु युएफसी’ जस्तो उच्चस्तरीय प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो अवसर हो ।
प्रतियोगितामा सुरुआतमा रबिन्द्रको प्रतिस्पर्धा म्याटी इआनसँग तय भएको थियो । तर इआन घाइते भएपछि अन्तिम समयमा फिलिपिन्सका किम्बर्ट एलिन्टोजोनसँग उनको भिडन्त भएको हो ।
खेलको सुरुदेखि नै आक्रामक शैली अपनाएका रबिन्द्रले प्रतिद्वन्द्वी माथि लगातार दबाब सिर्जना गरेका थिए । उत्कृष्ट प्रदर्शनका साथ उनले आफ्नो व्यावसायिक एमएमए करियरको १० औँ जित दर्ता गरे ।
जितपछि रंगशालामा उपस्थित नेपाली समर्थकहरूले ‘जय नेपाल’ को नारा लगाएका थिए । भावुक बनेका रबिन्द्रले पनि ‘जय नेपाल’ र ‘जय हनुमान’ भन्दै खुसी व्यक्त गरेका थिए ।





