काठमाडौँ। सर्वोच्च अदालतले अभियन्ता दुर्गा प्रसाईंको घर खानतलासीका क्रममा बरामद सामग्री सहित २४ घण्टा भित्र अदालतमा उपस्थित हुन विपक्षीका नाममा आदेश जारी गरेको छ।
सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गर्दै उनलाई घर बाहिर हिँडडुल गर्न नदिएको कारण समेत पेस गर्न आदेश दिएको हो।
सर्वोच्चले जिल्ला प्रहरी परिसर भक्तपुरलाई भदौ ४ गते प्रसाईंको घर खानतलासी गर्दा बरामद भएका सामग्री समेत लिखित जवाफ सँगै पेस गर्न आदेश दिएको छ।
अदालतले आदेश जारी हुन नपर्ने भए त्यसको आधार र कारण खुलाएर आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनेको छ।
त्यस्तै, भदौ ४ गतेको खानतलासी पुर्जी अनुसार प्रसाईंको घरबाट बरामद भएका भनिएका सामान समेत पेसीका दिन अदालतमा लिएर आउन आदेश दिइएको छ।




