काठमाडौं। बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका नाबालक आरोपीको भिडियो प्रहरीबाटै लिक भएको पुष्टि भएको छ। भिडियो सार्वजनिक गरेको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्।
प्रहरी स्रोतका अनुसार स्वास्थ्य परीक्षणका लागि कलैया अस्पताल लगिएका नाबालकलाई चिकित्सकको प्रत्यक्ष निगरानीबाहिर हत्कडी लगाएकै अवस्थामा प्रहरीले अनौपचारिक रूपमा सोधपुछ गरेको थियो। सोही क्रममा भिडियो खिचिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सामाजिक सञ्जालमा भाइरल भिडियोमा नाबालकले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै एक स्थानीय व्यक्तिको नामसमेत लिएको देखिन्छ। यद्यपि, भिडियोमा गरिएको दाबीको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।
भिडियो प्रहरीबाटै बाहिरिएको खुलेपछि बारा प्रहरीले आन्तरिक अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा भिडियो खिचेको आरोपमा प्रहरी हवल्दार कुमारलाई नियन्त्रणमा लिइएको हो।
बारा प्रहरीका एसपी नरेन्द्र कुँवरका अनुसार पक्राउ परेका प्रहरीलाई हिरासतमा राखेर फौजदारी कसुरमा कारबाही अघि बढाउने तयारी भइरहेको छ। भिडियो खिच्ने क्रममा अन्य पाँच जना प्रहरीसमेत उपस्थित रहेको खुलेपछि उनीहरूमाथि पनि सोधपुछ र अनुसन्धान भइरहेको छ।
नाबालक आरोपीसँग अनुसन्धानकै क्रममा गरिएको प्रश्नोत्तर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको अनुसन्धान पद्धति र गोपनीयतामाथि प्रश्न उठेको छ। कानुनअनुसार विशेषगरी नाबालक संलग्न संवेदनशील आपराधिक घटनामा अनुसन्धानका क्रममा संकलित बयान तथा सामग्री गोप्य राख्नुपर्ने हुन्छ।
प्रहरीले भिडियोमा गरिएको दाबीलाई मात्र आधार नबनाई वैज्ञानिक प्रमाण तथा अन्य तथ्यका आधारमा अनुसन्धान अघि बढाउने जनाएको छ।




