काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आँखाको समस्याका कारण संसदमा कालो चस्मा लगाएर उपस्थित हुने भएका छन्।
प्रधानमन्त्री शाह बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सहभागी हुँदैछन्। उक्त बैठकमा सांसदहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम छ।
सभामुख डोलप्रसाद अर्यालले यसअघि सांसदहरूलाई संसद बैठकमा कालो चस्मा नलगाउन आग्रह गरेका थिए। स्वास्थ्यका कारण चस्मा लगाउनुपर्ने भए स्वास्थ्य परीक्षणको रिपोर्ट सहित कारण खुलाउन भनिएको थियो।
सोही आग्रहअनुसार प्रधानमन्त्री शाहले आफ्नो आँखाको समस्या र कालो चस्मा लगाउनुपर्ने कारण खुलाउँदै संघीय संसद सचिवालयलाई पत्र पठाएका छन्। उनले पत्रसँगै स्वास्थ्य परीक्षणको रिपोर्टसमेत उपलब्ध गराएका छन्।
प्रधानमन्त्री शाहले गत साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए। उनको परीक्षण लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले गरेका थिए।
स्वास्थ्य परीक्षण रिपोर्टमा प्रधानमन्त्रीलाई उज्यालोमा हेर्न कठिनाइ हुने र आँखामा सुख्खापनको समस्या रहेको उल्लेख छ। आँखाको सुख्खापनका कारण नियमित रूपमा आइड्रप प्रयोग गर्नुपर्ने चिकित्सकीय सुझावसमेत दिइएको छ।
यही स्वास्थ्य अवस्थाका कारण उज्यालोबाट आँखालाई जोगाउन प्रधानमन्त्रीले कालो चस्मा लगाउनुपर्ने अवस्था रहेको जानकारी संसद सचिवालयलाई गराइएको हो।




