काठमाडौँ। नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली को निवास गुण्डुमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। उपमहासचिव लेखराज भट्ट का अनुसार बैठकले हाल सदस्यता दिने निर्णय मात्रै गरेको छ भने अन्य विषयमा थप छलफल आगामी बैठकमा हुने बताइएको छ।
गत वर्ष एमालेले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो। पार्टी नेतृत्वमा सक्रिय हुने संकेत पछि अध्यक्ष ओलीसहित शीर्ष नेताहरूले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा सक्रिय हुनु उपयुक्त नहुने धारणा राखेका थिए।
यसबीच भण्डारीले आफू निकट नेताहरूलाई संगठित गर्दै समानान्तर गतिविधि अघि बढाएकी थिइन्। हाल एमालेले पुनः सदस्यता दिने निर्णय गरेसँगै पार्टीभित्र नयाँ राजनीतिक बहस सुरु भएको छ।




