काठमाडौं। विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयका कामहरू शून्यबाट सुरु गर्नुपर्ने अवस्था रहेको बताएका छन्।
सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिदै उनले मन्त्रालय अन्य निकाय जस्तो पूर्वतयारी अवस्थामा नभएकाले तत्काल विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धी ऐन निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।
उनका अनुसार पहिलो चरण मै मन्त्रालय सञ्चालनलाई कानुनी आधार दिने उद्देश्यले विधेयक निर्माण गर्ने निर्णय गरिएको छ।
मन्त्री पुनले मन्त्रालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक कर्मचारी संख्या, दरबन्दी संरचना र कार्यप्रणाली बारे अध्ययन गर्ने निर्णय पनि भएको उल्लेख गरेका छन्।
त्यसैगरी, विभिन्न मन्त्रालय अन्तर्गत छरिएर रहेका अनुसन्धान तथा नवप्रवर्तन सम्बन्धी गतिविधिलाई एकीकृत र प्रभावकारी बनाउन तुरुन्तै गहन छलफल सुरु गरिने उनले बताएका छन्।
मन्त्रालय चलाउन कति कर्मचारी चाहिन्छ दरबन्दी कति हुने र काम कसरी छिटो तथा प्रभावकारी बनाउने भन्ने विषयमा सर्भेक्षण गरिनेछ उनले भनेका छन्।





