समाचार

बर्दियामा नक्कली सरकारी कार्यालय खडा गरी ठगी गरेको आरोपमा दम्पती पक्राउ

बर्दिया। नक्कली सरकारी कार्यालय स्थापना गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा बर्दिया प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ।

ठाकुरबाबा नगरपालिका-३ बगनाहा बजारमा घर भाडामा लिएर ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामक नक्कली कार्यालय सञ्चालन गरी ठगी गरेको आरोपमा दम्पती पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका-३ का २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङको लमही नगरपालिका-५ की २३ वर्षीया कृपा चौधरी रहेका छन्।

प्रहरीका अनुसार दाङको लमहीमा रहेको सरकारी ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ को नाम दुरुपयोग गर्दै उनीहरूले बर्दियामा नक्कली कार्यालय खोलेर विभिन्न व्यक्तिलाई रोजगारीको प्रलोभन देखाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बर्दिया प्रहरीका प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार पक्राउ परेका दम्पती मध्ये श्रीमानले आफूलाई चार्टर्ड एकाउन्टेन्ट (सिए) र श्रीमतिीले आफूलाई सरकारी कार्यालयको अधिकृत अर्थात् ७ औं तहको कर्मचारी भएको भन्ने गलत कुरा गरी सर्वसाधारणलाई ठगी गरेको पाइएको छ।

अनुसन्धानका क्रममा उनीहरूले कार्यालय सञ्चालनका नाममा १३ जना कर्मचारी नियुक्त गरे पनि कसैलाई पनि तलब नदिएको खुलेको प्रहरीले जनाएको छ। ती कर्मचारी मध्ये केहीलाई घरमा र निर्माण कार्यमा समेत लगाएको पाइएको छ।

त्यस्तै, घरधनीसँग तला थप्ने बहानामा करिब ४ लाख रुपैयाँ ऋण लिएर फिर्ता नगरेको तथा घर भाडा समेत नतिरेको आरोप उनीहरू माथि छ।

प्रारम्भिक अनुसन्धान अनुसार सो नक्कली कार्यालय गत फागुन महिनामा स्थापना गरिएको हो। उनीहरू विरुद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी ‘ठगी तथा लिखत सम्बन्धी कसूर’ अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :