समाचार

रास्वपाको प्रथम महाधिवेशनको तयारी तीव्र

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको तयारी चितवनमा तीव्र पारिएको छ। भरतपुर महानगरपालिका-१० स्थित गेष्ट हाउस चौरमा आगामी असार ७ गते हुने खुल्ला सत्रका लागि आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम धमाधम भइरहेको पार्टीले जनाएको छ।

रास्वपा चितवनका जिल्ला सभापति मिनी माधव खनालका अनुसार वर्षायामलाई ध्यानमा राख्दै सहभागीहरूलाई घाम र पानीबाट सुरक्षित राख्न विशेष प्रविधिको प्रयोग गरी २५ फिट अग्लो ह्याङ्गर (शेडिङ) निर्माण भइरहेको छ। उनका अनुसार मैदानमा शेडिङको काम अन्तिम चरणमा पुगेको छ भने अब स्टेज निर्माण र साउन्ड सिस्टम जडानको काम अघि बढाइनेछ।

महाधिवेशनमा देशभर बाट करिब ३ हजार ५ सय प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। साथै खुल्ला सत्रमा चितवन सहित आसपासका जिल्लाबाट ४० देखि ५० हजार सर्वसाधारण, शुभेच्छुक तथा समर्थकको उपस्थिति रहने अनुमान गरिएको छ।

महाधिवेशनको सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय चितवन तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी विशेष सुरक्षा योजना कार्यान्वयन गरिएको सभापति खनालले बताए। उनका अनुसार सुरक्षा निकायहरूसँग नियमित बैठक तथा तयारीका काम एक साता अघि देखि नै सञ्चालन भइरहेका छन्।

प्रतिनिधि तथा अतिथिहरूको आवास व्यवस्थापनका लागि चितवनका होटल व्यवसायीहरूसँग सहकार्य गरिएको छ। पार्टीले जिल्लाभित्रका १५० भन्दा बढी होटलको सूची सार्वजनिक गरिसकेको छ र होटल बुकिङको प्रक्रिया जारी रहेको जनाएको छ। होटल व्यवसायी संघसँगको सहमति अनुसार होटलका कोठामा २५ प्रतिशत तथा खानामा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। सौराहा र रत्ननगर क्षेत्रका होटलहरूले पनि विशेष प्याकेज उपलब्ध गराएका छन्।

खुल्ला सत्रपछि सञ्चालन हुने बन्द सत्र चितवन उद्योग संघको सभाहलमा आयोजना गरिनेछ। खुल्ला सत्रस्थलबाट करिब २०० मिटर पूर्वमा रहेको उक्त हलमा सरसफाइ, इन्टरनेट जडान तथा अन्य प्राविधिक व्यवस्थापनका काम भइरहेको जनाइएको छ। बन्द सत्रमा सहभागी प्रतिनिधिहरूका लागि उद्योग संघ परिसरमै क्याटरिङ सेवामार्फत भोजनको व्यवस्था मिलाइएको छ।

सेयर गर्नुहोस् :