काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामारोशन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर रावलको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ।
मन्त्रालयले असार १० गतेको निर्णय अनुसार शाखा अधिकृत तारादत्त भट्टलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइसकेको उल्लेख गर्दै उक्त निर्णय कार्यान्वयनका लागि रावललाई दिइएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरिएको जनाएको हो।
मन्त्रालयले रामारोशन गाउँपालिकालाई प्रमुख प्रशासकीय अधिकृत तारादत्त भट्टलाई तत्काल हाजिर गराई नियमित कामकाजमा खटाउन निर्देशन दिएको छ।
त्यसैगरी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई समेत रावलको आर्थिक जिम्मेवारी रद्द गरिएको जानकारी गराउँदै अबदेखि मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृत तारादत्त भट्टमार्फत मात्रै गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।




