समाचार

बालेन सरकारका मन्त्रीलाई १३ जना सम्म सल्लाहकार र सचिवालय कर्मचारी राख्न अनुमति

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले मन्त्रीहरूलाई अधिकतम १३ जनासम्म सल्लाहकार तथा स्वकीय सचिवालयका कर्मचारी राख्न पाउने व्यवस्था गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृत गरेको दरबन्दीअनुसार प्रधानमन्त्री कार्यालयमा २७ जनाको सचिवालय रहनेछ भने प्रत्येक मन्त्रीलाई आवश्यकताअनुसार सल्लाहकार र स्वकीय सचिवालय गठन गर्न सकिने व्यवस्था गरिएको हो।

नेपाली कांग्रेसकी सांसद सीता थपलियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग प्रधानमन्त्री र मन्त्रीहरूको सचिवालय, सल्लाहकार तथा उनीहरूको सेवा–सुविधाबारे विवरण माग गरेपछि कार्यालयले शुक्रबार उक्त जानकारी सार्वजनिक गरेको हो।

कार्यालयका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय तथा कृषि, वन तथा वातावरण मन्त्रालयमा पाँच–पाँच जना सल्लाहकार नियुक्त गर्न सकिनेछ। उनीहरूले सरकारको विशिष्ट श्रेणी सरहको सुविधा पाउने व्यवस्था गरिएको छ।

यस्तै, बाँकी १४ मन्त्रालयका मन्त्रीले तीन–तीन जना सल्लाहकार राख्न पाउनेछन्। प्रत्येक मन्त्रीको स्वकीय सचिवालयमा नौ जनासम्म कर्मचारी रहने व्यवस्था गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सेयर गर्नुहोस् :