समाचार

राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, सुनसरी घटनासहित समग्र सुरक्षा अवस्थाबारे छलफल हुने

काठमाडौं। राष्ट्रिय सुरक्षापरिषद्को बैठक आज बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

बैठकमा सुनसरी घटना सहित मुलुकको समग्र शान्ति–सुरक्षा अवस्था, सुरक्षा चुनौती तथा आवश्यक रणनीतिबारे विस्तृत छलफल हुने जनाइएको छ।

संविधानको भाग–२८ अनुसार राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव तथा नेपाली सेनाका प्रधानसेनापति सदस्य रहने व्यवस्था छ। परिषद्को सदस्य सचिवको जिम्मेवारी रक्षा सचिवले निर्वाह गर्छन्।

परिषद्ले नेपाली सेनाको परिचालन वा नियन्त्रण सम्बन्धी विषयमा नेपाल सरकारलाई सिफारिस गर्ने, सेनाको सुदृढीकरण तथा आधुनिकीकरणका लागि कार्ययोजना तयार गर्ने, सुरक्षा निकायका लागि आवश्यक हातहतियार र उपकरणसम्बन्धी नीति तर्जुमा गर्ने तथा राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी विषयमा सरकारलाई आवश्यक राय सल्लाह दिने संवैधानिक जिम्मेवारी रहेको छ।

सेयर गर्नुहोस् :