काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले ट्रान्सफर्मर, विद्युत मिटर खरिद तथा भूमिगत विद्युत लाइन परियोजना सम्बन्धी उजुरी छानबिन गर्न समिति गठन गरेको छ।
सञ्चालक समिति सदस्य शम्भु केसीको संयोजकत्वमा गठित समितिमा प्राविधिक, कानुनी र सार्वजनिक खरिद क्षेत्रका तीन विज्ञ सदस्य रहनेछन् भने प्राधिकरणले तोकेको उपकार्यकारी निर्देशक सदस्य सचिव रहनेछन्।
समितिलाई विगतका खरिद प्रक्रिया, सञ्चालनमा रहेका परियोजना तथा प्राप्त उजुरीहरूको अध्ययन गरी सुधारका सुझावसहित दुई महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार पछिल्लो दुई महिनामा ट्रान्सफर्मर र विद्युत मिटर खरिदसम्बन्धी ६६८ वटा उजुरी परेका छन्। एसियाली विकास बैंकको सहयोगमा सञ्चालित भूमिगत विद्युत लाइन परियोजना र ट्रान्सफर्मर खरिदसँग सम्बन्धित विषयमा सबैभन्दा धेरै गुनासा प्राप्त भएका छन्।
प्राधिकरणका अनुसार प्राप्त अधिकांश उजुरी पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालसँग सम्बन्धित विषयमा केन्द्रित रहेका छन्। समिति गठनसँगै ती उजुरीहरूको विस्तृत अध्ययन र आवश्यक छानबिन प्रक्रिया अघि बढाइने भएको छ।




