समाचार

राष्ट्रिय सुरक्षा परिषद्को निर्णयहरू ?

काठमाडौं। राष्ट्रिय सुरक्षा परिषद्ले मुलुकको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सुरक्षा निकाय तथा सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष बालेन शाहको अध्यक्षतामा बिहीबार बसेको परिषद्को ४३औँ बैठकले सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने निर्णय गरेको हो।

बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाका साथै साउन १० गते सुनसरीमा भएको घटनाबारे समीक्षा गरिएको थियो। राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट सुनसरीको अवस्था सामान्यीकरण तर्फ उन्मुख भएको बैठकमा जानकारी गराइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

परिषद्को बैठकपछि जारी विज्ञप्तिमा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकाय र सम्बन्धित सरोकारवालाबीच आवश्यक समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय भएको उल्लेख छ।

सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्दै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सम्बन्धित निकायले समन्वयात्मक रूपमा काम गर्ने परिषद्ले जनाएको छ।

त्यस्तै, विपद्का घटनामा खोज, उद्धार तथा राहतका काम समयमै प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायबीचको समन्वयलाई थप सुदृढ बनाउने निर्णयसमेत बैठकले गरेको छ।

बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, मुख्य सचिव गोविन्द कार्की र प्रधानसेनापति अशोक सिग्देल सहभागी थिए।

सेयर गर्नुहोस् :