काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ न्युयोर्क प्रस्थान गर्दै छन्। यसपटक उनको विदेश भ्रमणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विगतमा हुँदै आएको औपचारिक बिदाइ कार्यक्रम आयोजना नहुने भएको छ।
प्रधानमन्त्रीलाई बिदाइ गर्न विमानस्थलको भीआईपी लाउन्जमा मन्त्री, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख तथा कूटनीतिक प्रतिनिधिलाई बोलाइएको छैन। साथै, नेपाली सेनाबाट दिइँदै आएको गार्ड अफ अनर र भीआईपी लाउन्ज देखि विमानसम्म जाने क्रममा राखिने रेड कार्पेटको व्यवस्था पनि गरिएको छैन।
परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेकाले प्रधानमन्त्री शाहले विदेश प्रस्थानका क्रममा कुनै तामझाम नगर्ने इच्छा व्यक्त गरेका हुन्। अधिकारीहरूका अनुसार विमानस्थलमा औपचारिक बिदाइ नगर्ने निर्णय परम्परागत प्रोटोकल भन्दा फरक शैली अपनाउने प्रधानमन्त्रीको चाहनासँग पनि जोडिएको छ।
बाढीपछि प्रधानमन्त्री शाहले महासभामा सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम रद्द गर्ने वा निरन्तरता दिने विषयमा छलफल गरेका थिए। अन्ततः नेपालको धारणा अन्तर्राष्ट्रिय मञ्चमा राख्न महासभामा सहभागी हुने निर्णय गरेका हुन्।
प्रधानमन्त्री शाहले बिहीबार महासभाको ‘जनरल डिबेट’लाई सम्बोधन गर्ने कार्यक्रम छ। सोही दिन उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन्। यसपटक अन्य मुलुकका सरकार प्रमुखसँग भने द्विपक्षीय भेटवार्ता नगर्ने कार्यक्रम रहेको अधिकारीहरूले बताएका छन्।
शाह मंगलबार साँझ कतार एयरवेज मार्फत दोहा हुँदै न्युयोर्क जानेछन्। दोहा स्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक नेपाली राजदूत कुमार राईले उनलाई स्वागत गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शनिबार काठमाडौं फर्कनेछन्।
परराष्ट्रमन्त्री शिशिर खनाल भने यसअघि नै न्युयोर्क पुगिसकेका छन्। उनले विभिन्न मुलुकका समकक्षीसँग द्विपक्षीय भेटवार्ता सुरु गरिसकेका छन्।




