समाज

त्रिपुरेश्वर बस आगजनीमा मृत्यु भएका चालक को हुन्? पहिचान मै अन्योल

काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको वास्तविक परिचय अझै खुल्न सकेको छैन। प्रहरीले सुरुमा चालकलाई काभ्रेको पनौतीका २५ वर्षीय दावा लामा भनेर पहिचान गरे पनि पछिल्लो अनुसन्धानमा उनको परिचय माथि नै प्रश्न उठेको जनाएको छ।

सोमबार दिउँसो त्रिपुरेश्वरबाट कालीमाटी तर्फ जाने स्थानमा रोकिराखेको रिद्धिसिद्धि यातायातको बा.५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। प्रहरीका अनुसार ट्राफिक प्रहरीसँग सामान्य विवादपछि चालकले नै बसमा आगो लगाएका थिए।

आगलागीमा गम्भीर घाइते भएका चालकको कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि चालकको साथमा भेटिएको सवारी चालक अनुमतिपत्रका आधारमा प्रहरीले उनको नाम दावा लामा भएको जनाएको थियो। तर, अस्पतालमा आफू चालकको दाजु भएको भन्दै पुगेका व्यक्तिहरू नाम र अन्य विवरणमा स्पष्ट हुन नसकेपछि अस्पतालबाट फर्किएका थिए।

त्यसपछि मृतकका आफन्त दाबी गर्नेहरू सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। चालकको लाइसेन्समा उल्लेखित फोन नम्बरमा सम्पर्क गर्दा अर्कै व्यक्तिले फोन उठाएर आफ्नो लाइसेन्स हराएको र आफू घटनामा नपरेको बताएका थिए।

यस्तै, मृतकसँग भेटिएको अस्पतालको कागजातमा भने ‘अर्जुन ब्लोन’ नाम उल्लेख रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार मृतक दावा लामा नै हुन् वा होइनन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ। उनका अनुसार वास्तविक परिचय पुष्टि भएपछि मात्रै शव आफन्तलाई बुझाइनेछ।

प्रहरीले घटनासँग जोडिएका व्यक्तिहरू, लाइसेन्स तथा अन्य कागजातका आधारमा मृतकको पहिचान खुलाउने प्रयास गरिरहेको जनाएको छ।

सेयर गर्नुहोस् :