काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका संग्रौला “ज्वाला” ले २९ वर्षदेखि अलपत्र अवस्थामा रहेको बुढीगंगा जलविद्युत् आयोजना कहिले सम्पन्न हुन्छ भन्दै सरकारसँग प्रश्न गरेकी छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद संग्रौला “ज्वाला” ले दशकौँ देखि सुदूरपश्चिमका नागरिकले भोग्दै आएको विद्युत् अभावको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्।
उनले सुदूरपश्चिमका जनताको अन्धकार र विद्युत् समस्याका विषयमा सदनमा पर्याप्त बहस हुन नसकेको गुनासो गरिन्। सदनमा विभिन्न विषयमा बहस हुने गरे पनि सुदूरपश्चिमका नागरिकले लामो समयदेखि भोगिरहेको विद्युत्को समस्या प्राथमिकतामा नपरेको उनको भनाइ थियो। ‘सदनमा बेलाबेला प्रधानमन्त्रीको कालो चश्माको विषयमा बहस हुन्छ तर सुदूरपश्चिमका जनताको भाग्यमा सिंहदरबारले बाँधेको कालो पट्टी र अन्धकारको विषयमा कहिल्यै बहस हुँदैन,’ उनले भनिन्।
२० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत् आयोजना लामो समयदेखि निर्माणको प्रतीक्षामा रहेको उल्लेख गर्दै संग्रौलाले आयोजनाको काम अब थप लम्ब्याउन नहुने बताइन्। अछाम र बाजुराको काखमा बग्ने बुढीगंगा नदीबाट विद्युत् उत्पादन गर्ने उद्देश्यसहित अघि बढाइएको आयोजना लामो समय बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको उनले बताइन्। आयोजनाको क्षेत्र आसपासका कतिपय बस्ती अझै विद्युतको पर्याप्त पहुँचमा पुग्न नसकेको उनको भनाइ थियो।
सांसद संग्रौलाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई आयोजना निर्माणको काम कहिले तीव्र गतिमा अघि बढाउने र उद्घाटन गर्न अछाम कहिले जाने भनेर प्रश्न गरिन्। ‘मन्त्रीज्यू, चार पटक ठेक्का लागेको बुढीगंगा जलविद्युत् आयोजनाको निर्माण कार्य कहिले तीव्र गतिमा सम्पन्न गरेर बत्ती बालेर उद्घाटन गर्न अछाम जानुहुन्छ?’ उनले प्रश्न गरिन्।
उनले एउटा पुस्ता बुढीगंगा आयोजनाको नाम र आशा मै बितिसकेको बताउँदै अब पनि आयोजना निर्माणमा ढिलाइ हुनु दुःखद भएको उल्लेख गरिन्। लामो समय देखि आयोजनाको प्रतीक्षामा रहेका स्थानीय बासिन्दालाई विद्युतको सुविधा उपलब्ध गराउन सरकारले ठोस कदम चाल्नुपर्ने उनको माग थियो।
सांसद संग्रौलाले आयोजना निर्माणलाई तीव्रता दिई निर्धारित समय मै सम्पन्न गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइन्। उनले सुदूरपश्चिमको विकास र त्यहाँका नागरिकको विद्युत् पहुँचलाई प्राथमिकतामा राख्नसमेत आग्रह गरिन्।




