काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले आफू पद वा राजनीतिक महत्वाकांक्षाका कारण संसद् नआएको बताएकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका क्रममा आफ्ना छोरासहित ज्यान गुमाएका युवाको बलिदानलाई खेर जान नदिन र सरकारलाई निरन्तर खबरदारी गर्न आफू संसद्मा आएको बताइन्।
आफ्नो छोराको मृत्युको विषयलाई राजनीतिक रूपमा प्रयोग नगर्न आग्रह गर्दै खत्रीले व्यक्तिगत पीडामाथि हुने टिप्पणीप्रति आपत्ति जनाइन्। आफूले भोगेको पीडा अन्य आमाले भोग्न नपरोस् भन्ने उद्देश्यले संसद्मा आवाज उठाइरहेको उनको भनाइ थियो।
खत्रीले जेनजी आन्दोलनका शहीदहरूले पूर्ण न्याय पाए आफू सांसद पदबाट राजीनामा दिन तयार रहेको समेत बताइन्। छोराको मृत्युको विषयलाई लिएर आफूले सांसद पदसँग कुनै सम्झौता नगरेको स्पष्ट पार्दै उनले व्यक्तिगत दुःखमाथि थप आघात पुग्ने गरी टिप्पणी नगर्न आग्रह गरिन्।
शहीद तथा घाइतेका परिवारको अवस्था सम्बोधन गर्न सरकार गम्भीर बन्नुपर्ने उनको माग थियो। सरकारका कामकारबाहीप्रति आफ्ना असहमति र प्रश्न भए पनि आफू संसद्मा जिम्मेवार ढंगले प्रस्तुत भइरहेको उनले बताइन्।



