समाज

ई-कमर्स व्यवसायी अनिवार्य सूचीकृत हुनुपर्ने

काठमाडौँ। वेबसाइट, एप, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीले अब अनिवार्य रूपमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सूचीकृत हुनुपर्ने भएको छ।

विभागले जरुरी सूचना जारी गर्दै विद्युतीय व्यापार (ई-कमर्स) ऐन, २०८१ र ई-कमर्स निर्देशिका, २०८२ अनुसार व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य सूचीकरण हुन निर्देशन दिएको हो।

पछिल्लो समय डिजिटल माध्यमबाट उपभोक्तालाई भ्रममा पार्ने, ठगी गर्ने तथा गुणस्तरहीन वस्तु तथा सेवा बिक्री गर्ने गुनासो बढेपछि विभागले ई-कमर्स व्यवसायको नियमनमा कडाइ गरेको जनाएको छ।

कम्प्युटर, मोबाइल तथा अन्य विद्युतीय उपकरणमार्फत वेबसाइट, एप्लिकेसन, सफ्टवेयर, इन्टरनेट र सामाजिक सञ्जालका मार्केटप्लेसबाट हुने वस्तु तथा सेवाको कारोबार ई-कमर्सअन्तर्गत पर्ने विभागले स्पष्ट पारेको छ।

दैनिक उपभोग्य वस्तुदेखि शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन, बैंकिङ, बिमा तथा मर्मतसम्भार लगायतका सेवा पनि यस दायरामा समेटिनेछन्।

विभागले कानुनी प्रक्रिया पूरा गरी सूचीकृत भएर मात्र विद्युतीय व्यापार सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ। सूचीकृत नभएका वा गैरकानुनी विद्युतीय प्लेटफर्मबाट कारोबार गरेको पाइए प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनी विभागले दिएको छ।

सेयर गर्नुहोस् :