राजनीति

ओली हटाउन पुनर्गठन पक्षले थाल्यो तयारी

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोजिरहेको पुनर्गठन पक्षधरले पार्टी भित्र आफ्नो अभियानलाई थप सक्रिय बनाउने तयारी थालेको छ।

सोमबार बानेश्वरमा बसेको पुनर्गठन पक्षधर नेताहरूको बैठकले सचिवालय र केन्द्रीय कमिटीको बैठक कुर्नु भन्दा समानान्तर रूपमा गतिविधि अघि बढाउने निष्कर्ष निकालेको हो।

बैठकमा सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, आनन्द पोखरेल, कृष्णप्रसाद दाहाल, वैजनाथ चौधरी, पुरुषोत्तम पौडेल लगायत १२ नेता सहभागी थिए।

बैठकले प्रदेशगत रूपमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यहरूको भेला गर्ने र पार्टी पुनर्गठनसम्बन्धी छुट्टै अवधारणा तयार पार्ने दुई तयारी अघि बढाउने निर्णय गरेको छ।

पुनर्गठन पक्षधरले पहिलो चरणमा मधेस प्रदेशमा भेला गर्ने तयारी गरेको छ। त्यसका लागि पुरुषोत्तम पौडेल र अरबिन्द सिंहलाई जिम्मेवारी दिइएको बताइएको छ। मधेस पछि बागमती प्रदेशमा भेला गर्ने तयारी छ। बागमतीको संयोजनको जिम्मेवारी कृष्णप्रसाद दाहाल, आनन्द पोखरेल र सोम मिश्रलाई दिइएको छ।

गण्डकीमा पनि उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र सचिव खगराज अधिकारीले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यहरूको छुट्टै भेला गर्न लागेको विषयमा बैठकमा छलफल भएको थियो।

त्यस्तै, पुनर्गठन पक्षधरले पार्टी पुनर्गठनको छुट्टै दस्तावेज तयार गर्ने भएको छ। त्यसका लागि सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा र पुरुषोत्तम पौडेललाई जिम्मेवारी दिइएको छ।

पार्टीभित्र अध्यक्ष ओलीलाई चुनौती दिन खोजिरहेको समूहले तयार पार्ने उक्त अवधारणा लिएर प्रदेश तथा तल्लो तहसम्म पुगेर बहस सिर्जना गर्ने तयारी गरेको छ।

बैठकमा सहभागी नेताहरूले पुनर्गठन कार्यदलको प्रतिवेदनबारे अन्योल रहेकाले त्यसलाई मात्र पर्खेर बस्नु उपयुक्त नहुने निष्कर्ष निकालेका थिए। केन्द्रीय कमिटीमा ओली पक्ष बलियो रहेकाले आगामी रणनीति समानान्तर रूपमा अघि बढाउनुपर्ने उनीहरूको निष्कर्ष छ।

सेयर गर्नुहोस् :