काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’का तत्कालीन स्वकीय सचिव माथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान अघि बढाएको छ।
आयोगले ओलीका तत्कालीन स्वकीय सचिव राजेश बज्राचार्य, देउवाका स्वकीय सचिव भानु देउवा र दाहालकी स्वकीय सचिव गंगा दाहालको सम्पत्ति तथा आर्थिक कारोबार माथि छानबिन थालेको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पत्र प्राप्त भएपछि आयोगले निजामती कर्मचारी र प्रहरी सम्मिलित संयुक्त टोली बनाएर अनुसन्धान अघि बढाएको जनाएको छ।
आयोगले तीनै जनाको सम्पत्ति तथा आर्थिक कारोबारको विवरण संकलन गर्न नेपाल राष्ट्र बैंक, मालपोत कार्यालय लगायत २० भन्दा बढी सरकारी तथा सम्बन्धित निकायलाई पत्राचार गरेको छ। उनीहरूको बैंक कारोबार, जग्गाजमिन, सेयर, सवारीसाधन, ऋण तथा अन्य आर्थिक गतिविधिसम्बन्धी विवरण संकलन भइरहेको बताइएको छ।
अख्तियारका एक अधिकारीका अनुसार अनुसन्धानका क्रममा तीनै जनासँग बयान लिने तयारीसमेत भइरहेको छ।
बज्राचार्यमाथि यती समूहसँग जोडिएको विषयमा पनि अनुसन्धान
ओली प्रधानमन्त्री रहेका बेला स्वकीय सचिवका रूपमा कार्यरत राजेश बज्राचार्यमाथि दरबारमार्गस्थित सरकारी जग्गा यती समूहलाई लिजमा दिने प्रकरणसँग जोडेर समेत अनुसन्धान अघि बढाइएको छ।
सरकारी जग्गा लिजमा दिँदा बदनियत भएको आशंकामा भएको अनुसन्धानपछि बज्राचार्यको भूमिकाबारे समेत छानबिन गर्न प्रहरीबाट अख्तियारलाई सिफारिस गरिएको थियो।
अनुसन्धानका क्रममा बज्राचार्यले बालकोटमा करिब चार करोड रुपैयाँ मूल्य पर्ने जग्गा लिएको विषयसमेत खुलेको बताइएको छ। यही विषयलाई समेत आधार बनाएर उनको सम्पत्तिमाथि अनुसन्धान अघि बढाइएको आयोग स्रोतले जनाएको छ।
भानु देउवाको बैंक तथा सम्पत्तिको विवरण संकलन
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाको पनि आर्थिक अवस्थाबारे आयोगले विस्तृत विवरण संकलन गरिरहेको छ।
अनुसन्धानका क्रममा उनको बैंक खाताको विवरण, सेयर लगानी, घरजग्गा, सवारीसाधन, ऋण तथा विदेश यात्रासम्बन्धी विवरण माग गरिएको छ। साथै परिवारका सदस्यको सम्पत्ति र विभिन्न कम्पनीमा भएको लगानीबारे समेत विवरण संकलन गरिएको बताइएको छ।
गंगा दाहाल र उनका पति पनि अनुसन्धानको दायरामा
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरीसमेत रहेकी गंगा दाहालको आर्थिक कारोबारबारे पनि आयोगले अध्ययन गरिरहेको छ।
अनुसन्धान अधिकृतहरूले उनको बैंक कारोबार तथा सम्पत्तिसम्बन्धी विवरण अध्ययन गरिरहेका छन्। आयोगले गंगाका पति जीवन आचार्यको सम्पत्तिबारे समेत छानबिन गरिरहेको बताइएको छ।
आचार्य कोशी प्रदेशका मन्त्रीसमेत हुन्।
आयोगले अनुसन्धानका क्रममा सम्बन्धित व्यक्तिहरूको वैध आम्दानी, सम्पत्तिको स्रोत तथा आर्थिक कारोबारबीचको सम्बन्ध लगायत विषयलाई आधार बनाएर विवरण अध्ययन गरिरहेको जनाएको छ।
छानबिनकै क्रममा रहेकाले आयोगले अनुसन्धानमा परेका व्यक्तिहरू दोषी ठहर भइसकेको नभई उनीहरूको सम्पत्ति तथा आर्थिक कारोबारको स्रोत बारे अनुसन्धान भइरहेको बताएको छ।




