समाचार

पोखरा पुगे प्रधानमन्त्री शाह, मुस्ताङ पुगेर मुक्तिनाथ दर्शन गर्ने

काठमाडौँ। प्रधानमन्त्री बालेन शाह शुक्रबार पोखरा पुगेका छन्। उनी स्थलमार्ग हुँदै मुस्ताङ तर्फ जाने क्रममा पोखरा पुगेका हुन्।

सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री शाह शुक्रबार बिहानै काठमाडौँबाट आफैँ गाडी चलाउँदै मुस्ताङतर्फ प्रस्थान गरेका थिए। काठमाडौँबाट पोखरासम्म गाडीमा पुगेपछि त्यहाँबाट हेलिकप्टरमार्फत मुस्ताङ जाने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणका क्रममा प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मुक्तिनाथको दर्शन गर्ने कार्यसूची रहेको बताइएको छ।

यद्यपि, मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले प्रधानमन्त्री शाह मुस्ताङ आउनेबारे आफूलाई औपचारिक जानकारी प्राप्त नभएको बताएकी छन्। उनले प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक जानकारी नआएको बताइन्।

पछिल्लो समय प्रधानमन्त्री शाहले रुग्ण उद्योग सञ्चालन तथा पुनर्जीवनका साथै देशभित्रका पर्यटकीय सम्भावनाको प्रवर्द्धनमा समेत जोड दिँदै आएका छन्। सोही क्रममा मुस्ताङ भ्रमणलाई पनि पर्यटकीय सम्भावना उजागर गर्ने प्रयासका रूपमा हेरिएको छ।

समुद्री सतहबाट करिब ३ हजार ८ सय मिटरको उचाइमा रहेको मुक्तिनाथ हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण तीर्थस्थल हो। मुक्तिनाथमा हरेक वर्ष ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक तथा तीर्थयात्री पुग्ने गर्छन्।

प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणका क्रममा अन्य कार्यक्रमसमेत हुने वा नहुनेबारे भने विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

सेयर गर्नुहोस् :