काठमाडौँ। मनसुनी वायुको प्रभावका कारण शुक्रबार देशभरको मौसममा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
महाशाखाका अनुसार अहिले देशभर सामान्यतया बदली रहेको छ भने गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। देशका तराई भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।
मनसुन सक्रिय रहेकाले भारी वर्षा हुने स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।




