समाचार

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुलिने

काठमाडौं। सरुवा भएका निजामती कर्मचारीलाई समय मै रमाना नदिए सम्बन्धित कार्यालय प्रमुख र लेखा प्रमुख बाटै तलबभत्ता असुल गरिने भएको छ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तोकिएको समय भित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई निर्देशन दिएको छ।

मन्त्रालयका अनुसार पछिल्लो समय सरुवा भएका कर्मचारीलाई विभिन्न बहाना बनाएर पुरानै कार्यालयमा राख्ने, नयाँ कार्यालयमा पठाउन रमाना नदिने र सरुवा भइसकेपछि पनि पुरानै कार्यालयबाट तलबभत्ता दिने गरेको पाइएको छ।

यस्तो अवस्थामा रमाना दिनुपर्ने समय नाघेपछि भुक्तानी भएको तलबभत्ता सम्बन्धित कार्यालय प्रमुख र तलब भुक्तानी गर्ने लेखा प्रमुखबाट असुल गरिने मन्त्रालयले जनाएको छ।

सरुवा भएका कर्मचारीलाई पुरानै कार्यालयमा रोक्दा स्थानीय तहमा जनशक्ति अभाव हुने र त्यसको असर नागरिकलाई दिने सेवामा पर्ने मन्त्रालयको भनाइ छ।

मन्त्रालयले सरुवा भएका कर्मचारीलाई कानुनले तोकेको अवधिभित्रै रमाना दिन र नयाँ कार्यालयमा हाजिर हुने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

रमाना नदिई पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गरेको पाइएमा लेखापरीक्षणका क्रममा उक्त रकम बेरुजु कायम गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ। साथै, निर्णय कार्यान्वयनमा आवश्यक सहयोग गर्न सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई समेत निर्देशन दिन महालेखा नियन्त्रकको कार्यालयलाई आग्रह गरिएको छ।

सेयर गर्नुहोस् :